अब युएईमा ‘मंगोलियन हर्ट’

नेपालको चार्चित सांगीतिक समुह ‘मंगोलियन हर्ट’ ले स्थापनाको २५ वर्ष पूरा भएको अबसरमा सयुक्त अरब इमीरेट्समा दुई वटा सांगीतिक कार्यक्रम गर्ने भएको छ । यहि मङ्सिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा युएइका दुइ शहर अबुधाबी र बरदुबईमा हुने मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेको हो । अबुधाबीमा डिसेम्बर ६ तारिखमा ली मेरिडियन होटेल र डिसेम्बर ७ तारिखमा बर दुबईको अस्टोरिया होटेलस्थित क्लब एभरेस्टमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाली रक्सका यमन गुरुङले जानकारी दिए ।

मंगोलियन हर्टका म्यानेजर एबम गीटारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्राको  ‘सिल्भर जुब्ली’ का अवसरमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य अनुरुप अहिले सम्म ८ वटा ठाउँमा गरिसकेको र युएइको २ वटा कार्यक्रम पछि बाँकी १५ ठाउँको गर्ने तयारी लगभग सकिन लागेको छ ।

यहि कार्यक्रम लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन् । ७ वटा एल्बमका ५ दर्जन गीतहरु बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरु गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन् ।