‘गोपी’को नजरमा ‘अस्थिपञ्जर हुनुअघि’ कविता उत्कृष्ट

- मेराेफिल्म

‘गोपी’ फिल्मले आयोजना गरेको कविता लेखन प्रतियोगिताको नतिजा सार्वजनिक भएको । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको छ । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतीय पुरस्कार जित्न सफल भएका छन् ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सहभागीहरुले ‘गोपी’ फिल्मको ट्रेलर हेरेर त्यसैमा आधारित स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले बुधबार गरेका हुन् ।

आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् ।

विजेताहरुलाई आगामी हप्ता पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । सयौं युवालाई कविता लेख्न उत्प्रेरित गरेकोमा कविद्वय सुब्बा र पराजुलीले ‘गोपी’ फिल्मप्रति आभार व्यक्त गरे । दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रथम कविता– अस्थिरपञ्जर बन्नुअघि

सान्दाई !
तिमीले हरियो पासपोर्ट
बनाएको दिन
मैले पनि हरियो सपना देखेँ,
तिमीले ‘यहाँ बसेर काम छैन’
भनेको दिन
मैले एकपटक यो माटो छामेर हेरेँ,
खैर ! यी त उहिलेका कुरा !

आज सोच्छु–
तिमीले हरियो पासपोर्ट बनाएको दिन
मैले हरियो सपना नदेखेको भए
मेरो जिन्दगीका धेरै हरियालीहरु हराउने रहेछन्
हेर्छु मेरो बारीमा–
हुर्किदै गरेको हरियो साग
हुर्किदै गरेको हरियो काउली
हुर्किदै गरेको हरियो बन्दा
साना सन्तानजस्तै–लहलहाउँदो खेती
यी सबै–सबै हराउने रहेछन् ।

सान्दाई !
तिमीले ठूलो जहाज चढेको दिन
तिमीलाई विदा गर्न ‘एअरपोर्ट’ नपुगेको भए
देख्ने थिइनँ हुँला– तिम्रो आँखाको आँशु
बुझ्ने थिइनँ हुँला –परिवारसँग छुट्टिनुको पीडा
देख्ने थिइनँ हुँला–तिम्री छोरी र पत्नीको आर्तनाद
तिमीले ठूलो जहाज चढेकै दिन
मैले देश नछोड्ने ‘ठूलो अठोट’ नगरेको भए
नआउँदै हराउने रहेछन्–
मेरा जिन्दगीका ‘ठूला’ बसन्तहरु !

मेरो गाई फार्ममा–
हुर्किदै गरेकी बाच्छी हेर्छु
तिम्री सानी छोरीलाई सम्झिन्छु,
कुखुरा फार्ममा हुर्किदै गरेका चल्लाहरु हेर्छु
तिमीजस्तै ‘परदेशी’का सन्तान सम्झिन्छु,
खाडीको तालो बालुवामा
तिमीले कतिपटक को¥यौ होला–
आफ्ना कलिला सन्तानको ‘स्केच’
कतिपटक बनायौ होला
आफ्नी अर्धाङ्गिनीको आकृति !

सान्दाई !
तिमीले खाडीमा पसिनाको नाइल बगाउँदा
मैले मेरै देशमा पसिनाको कर्णाली बगाएँ
मेरो पसिनाको सुगन्धमा
बारीभरी फुलको छ तरकारी
खेतभरी झुलेको छ धान
मेरै पसिनाको बास्नाले अघाउँछन्–गाईहरु
मेरै पसिनाको बास्नामा हुर्किन्छन्–चल्लाहरु
सायद, तिम्रो पसिनाको पलङमा
मस्त सुत्दो हो–मुदिर
पसिनाको रङ उस्तै भएपनि
पसिनाको मूल्य फरक हुँदोरहेछ
तिमीले बगाएको पसिना
खाडीको बालुवाले सोसिरहेको बेला
मेरो पसिनाले आफ्नै देशको माटो सिँञ्चिरहेछ ।

सान्दाई !
तिमीले पनि–
हरियो पासपोर्ट बनाउन छोडेर
आफ्नै बारी हरियो बनाउन लागेको भए
कुपोषणको खिइने थिइन होला–सानी छोरी
भत्किने थिएन होला–खुशीको पर्खाल
र, हरियै हुँदो हो तिम्रो जिन्दगी पनि–
मेरो बारीको तरकारीजस्तै !

सान्दाई !
तिमीलाई मेरो सानो अनुरोध–
अस्थिपञ्जर भएर फर्किनु अघि नै फर्किदेउ
यही माटोमा बगाउँला पसिनाका अनेक नदीहरु
झन् अग्लो बनाउँला खुशीको सगरमाथा
र, हरियो बनाउँला–जिन्दगीका पत्रैपत्र ।

नाम : क्षितिज समर्पण, ९८५८०५२९१९

द्वितीय कविताः स्वाबलम्बी झण्डा

त्यो पुरानो बोत्तलमा भरेर राखेको
महिनौँ बासी पिउँछौ विदेशी रक्सी
तर पिउँदैनौ
मेरो सेती गाईले दिएको दूधको एक घुट्को
–मैले तताएर दिएमा
शरीरलाई रक्सीले भन्दा बढी जातले असर गर्छ हो ?
या त
मन पर्दैन तिमीलाई यो देशभित्रका कुनै पनि उत्पादन
याद गर्नू– तिमी स्वयम् पनि यही देशको धर्तीपुत्र हौ ।
आँखामा बोकेर बादल चुम्ने सपना
छातीमा टाँसेर काँसझैँ सेतो हिमाल
गएको हो तेरो दाजु परदेश
फर्कियो
आँखैमा भरेर बादल
टाँसेर हिमालको रङ् कलेजोमा
गर्दै वान्ता मेरो सिन्दूरको रङ् जस्तो पानी…..
चुरोट चुम्दैमा शिखर कहाँ चुमिँदो रहेछ र सफलताको वास्तविक शिखर ?

अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
यो चीनिको रङ् हो
दूधको रङ् हो
अँ हिमालको पनि…….
बेचेका हुन् निख्खर सेतो गाईको निख्खर सेतो दूध
गरेर सेतै परिश्रम
आधा वैंशमै भएका हुन्
पीर चिन्ता र परिश्रमले कपालका रौँहरू पनि से…..ता !
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !

यो देशको सेतो इज्जतमा नलागोस् दाग भनेर
बसेका हुन् स्वदेशमै
गरेका हुन् परिश्रम
फुलाएका हुन् स्वाबलम्बनका सेता फूलहरू !

भरेपछि शरीरलाई चीनि रोगका काला जिवाणुले
खाँदेका हुन् शरीरभित्र सेता ट्याब्लेट्
चढाएका हुन् नशा नशामा सेतै औषधिहरू
विडम्बना !
सेतो कपडामा लागेको कालो धब्बा
जति धोएपनि सेतो नहुँदो रहेछ……. !
जसरी हुँदैनन्
धुँदैमा गधाहरू– सेता गाई जस्ता ।

अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !
स्वरोजगारका सेता फूलले जन्माएका सेता गाईका सेतै थुनबाट निस्केको दूध
बेचेका हुन् आफ्नो जीवनकालभर– न्यूनतम मूल्यमा !
नपुगेपछि दूध बेचेर तँलाई पढाउन
चढाएका हुन् लाख बिन्ती– मूल्य बढाउन
नुहाएर सेतो दूधले सेतै शरीरलाई
बगाएका हुन् सडकमा दूधको सेतै रङ्ग….. !
देखेनन् कसैले
न त सुने कसैले…..
बीच सडकमा काढेर सेतो फिँज मरेका हुन् तेरा बा
र भएको हो त्यसैदिन देखि मेरो जिन्दगी पनि से……..तो
सेतो कपडामा दाग लगाउन कत्ति सजिलो हुन्छ है !
मलाई दोबाटोमा भेटिने जतिलाई प्रश्न गर्न मन छ —“यो देशमा शिर उठाएर बाँच्न सडकमा अर्काको रगतबगाउनुपर्छ हो ?“
अचेल आँखाले सेतो रङ् हेर्न मान्दैनन् !

आऊ !
ए युगका मान्छे हो आऊ !
भुलेर विगतको तितो इतिहास
समातौँ एक अर्काका हात
जोडेर काँधमा काँध
निकालौँ यौटा सुरिलो भाका
उतारौँ रारालाई श्री कृष्णको बाँसुरीमा
फुकौँ धुन – “ स्वाबलम्बन, स्वरोजगार र परिश्रमको“
र पारौँ मुग्ध हरेक दिन ओजोन तह हुँदै उड्ने
यो देशको नागरिकताधारी
एक हुल माहुरीहरूलाई !
भरेर रक्सीका बोतलमा– फेवाको जल
खापेर चुरोटमा– हिमालको रङ्ग
टाँसेर ब्राउन सुगरमा– यो देशको माटो
छर्केर पर्फ्यूममा– पसिनाको सुगन्ध
चिप्काएर पाल्पाली ढाँकामा– परिश्रमको मूल्य
भिरेर– स्वरोजगारीको खुकुरी
चढौँ सगरमाथाको टुप्पोमा
र फर्फराऔँ
परिश्रमी हातहरूले बनाएका
पसिनाको सुगन्ध मिश्रित
स्वाबलम्बन, स्वरोजगार र परिश्रमको त्रीकोणयुक्त
स्वाबलम्बी देशको – स्वाबलम्बी झण्डा ।

रचनाः निरज दाहाल, ९८६९५८०४५८

तृतीय कविताः फर्किउ तिमी

फुल्दै गैरहेका कपालहरु ,

झर्दै गैरहेका बुढ्यौलीका दांत हरु संगै
ढल्दै छन् संस्कृति र रितिहरु !
आज बजिन बिर्सिसके सारंगीका धुनहरुले !
सजिन भुलिसके नदि र बस्तिहरुले !
तिम्रो कमीका गुञ्जयमान
आवाज हरु सहित,
सदन पसेका मदन हरु,
हजारौ वतन फेर्दै छन् !
बेर्दै छन् रास्ट्रवाद का च्यादर !
फैलाउदै चिल्लो साधनका गफ र दुषित धुँवा हरु !
तर ,
यी मन्दिरका सहरहरुमा,
सुगन्धित धुप र मन्त्र जोगाउने
तिम्रा हातहरु र आस्थावान मन,
कतै पर हड्बडौदै छट्पट्टिरहेछन !
भो नजाउ !
त्यो सात समुन्द्र पारि
महान सपना र आशा हरु बोकी ,
सक्काउन जवानी !

तिमि भएत ,
तिमीलाई सम्झेर रात कटाउनेहरुलाइ
आउथेन होला
यार्शागुम्बा खानेहरुको अंगालोमा बेरिने रहरहरु !
खैरी गाइको दुध कराइमा ,
माथि माथि बाक्लो तर लाग्दै गर्दा,
चर्किन्थेना होला भित्ता !
भत्किन्थेन होला घर !
सुन्येता न त तिमि भित्र ,
न त आफन्तका हुन्थे मित्र !
बरु
ठडिन्थे होला वीर सन्तानका आफ्नै सहरहरु !

हजारौ अपहेलित ब्येथा को संगालो सहित,
तिम्रा
नसुनिएका कैयौ कथाहरु !
विश्वास को पट्टि आँखामा लगाउदा ,
कानमा बजिरहने धोकाका धुनहरु !
आज,
तिमीले पठाएका धन संगै,
नाङ्गिदै छन् पहाडहरु,
आन्तिदैछन आपÞmन्तिका मन !
आज उग्र ब्येग्र , होस बिहिन छ समाज ,
डर छ कतै !
तिमि फर्कीदा चढ्ने बाकश हुनेछ कि जहाज !
कास तिमी संगै भैदिए ,
त्यो परिवार ,
सुख को शास संगै हतास नबनी,
निल्थे होला तिता मिठा गाँस !
तिम्रा सोचका खोलिहरुले !
पक्कै भरिनेछ हरेक अन्जुली ,
अशान्तिका गोलीहरु चल्न बन्द होलान ,
बेचिनेछैन अव कदापि आमाको चोली !!

रगतले लेखिएका इतिहाश त थिए
र छन् येथावतै,
तर
गोरेटोमा चल्ने पाउ र
मझेउला गाउँहरु,
तिमीले बाध्येता का परिधिभित्र रही बिर्सिरहदा,
यो विमानस्थल ,
सर्दैछ नजिक नजिक पशुपतिघाटको !
अतस्
लेखिदैछन वर्तमानका खालि पानाहरु
पीडाका आंशुहरुले !
हेर त येहाँ,
आज इतिहास लेख्ने कलम
तिमी संग पसिनाको मसि माग्दै छ !

मित्र आज प्रश्न यो हैन कि ,
“देशमा भविष्य छ कि छैन ?”
प्रश्न त यो होकी
“भविश्यमा देश हुन्छ कि हुदैन ?”
नामः सुमन थापा मगर, ९८२३१९१०२९

२०७५ माघ १७ गते २०:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *