‘ए मेरो हजुर ३’ ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ ।ट्रेलरमा फिल्मका मुख्य पात्रहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायत फिचर्ड छन् ।

ट्रेलरमा अनमोल केसी स्टार गायकको रुपमा प्रस्तुत छन् भने डेब्यु नायिका सुहानालाई अनमोलको फ्यानको रुपमा प्रस्तुत गरिएको छ । स्टार गायकको स्टारडम पछाडीको रहस्यमय कथा फिल्ममा समेटिएको अनुमान सार्वजनिक ट्रेलरबाट लगाउन सकिन्छ । साङ्गितिक लभ स्टोरी समेटिएको फिल्म चैत्र २९ गते देखी प्रदर्शनमा आउने छ ।

फिल्मलाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, सरोज खनाल लगायतको समेत अभिनय रहेको छ । फिल्ममा कथा निर्देशक झरना थापासंगै सुमन पौडेलको रहेको छ भने पटकथा तथा संवाद छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको रहेको छ । फिल्ममा आशिष अविरल, कल्याण सिंह, कोशिश क्षेत्री, पुष्पन प्रधान लगायतको संगीत समावेश छ ।

कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह, राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको द्वन्द तथा संजय लामा, सुदिप बराल र शम्भु मोक्तानको छायाँकन रहेको छ । फिल्मलाई उपत्यका भित्र गोविन्द शाही र उपत्यका बाहिर मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।