नीर शाहको राजिनामा पछि चलचित्र कलाकार संघमा हरिवंश

चलचित्र कलाकार संघको संरक्षकको पदबाट बरिष्ठ कलाकार नीर शाहले राजिनामा दिएका छन् । उनले कार्य व्यस्तताको कारण देखाउदै राजिनामा दिएका हुन् । उनको राजीनामा पछी रिक्त पदमा संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क) ले दिएको अधिकार प्रयोग गरेर विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई नियुक्त गरिएको छ । संघले एक विज्ञप्ति जारि गरेर उक्त जानकारी दिएको हो ।

संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले शाहको राजिनामा स्वीकृत गरेको थियो । जारी गरिएको विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै विशिष्ट कलाकार शाहले पुर्याएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै आफ्नो कार्यकालमा दिएको योगदानलाई हार्दिक धन्यवाद दिने निर्णय गरिएको छ।

विज्ञप्तिमा नव-नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समय देखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्बर्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी भएको उल्लेख गरिएको छ ।