आइसीयुमा टेगोरको गीत सुन्थे प्रधानमन्त्री ओली

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली सात दिन पछि नै संगीत सुन्न थालेको रहस्य बाहिर आएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणपछि रेखदेखको जिम्मा पाएका प्रा.डा. सुवास आचार्यले प्रत्यारोपणको सात दिनपछि मनोरञ्जनका लागि भनेर दैनिक क्रियाकलापपछि आराम गर्ने समयमा संगीत सुन्ने व्यवस्था मिलाएको बताए ।

उनले भने, ‘ प्रधानमन्त्री ज्यूलाई हामीले दैनिक क्रियाकलापसँगै संगीत सुनाउन थाल्यौ । किनकी संगीतमा उहाँको रुची भएको हामीले देखेका थियौ । उहाँ आफै पनि संगीतका पारखी हुनुहुन्छ । उहाँलाई स्टाफ नर्सहरुले रविन्द्र टेगोरका ‘एकला चलो रे’ बोलको गीत सुनाएका थिए ।’

आचार्यको नेतृतवमा रेखदेखको जिम्मा पाएका डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु, डा. सौरभ प्रधानका साथै लिभर आईसीयूका नर्सको टोलीले सम्हालेको थियो ।

उनका अनुसार प्रधानमन्त्रीको रेखदेखमा धेरै धपेडी बेहोर्नु परेको साथै आईसीयूभन्दा एलआईसीयूमा राख्दा अन्य बिरामीभन्दा सजिलो भएको थियो । एलआईसीयूमा हेपा फिल्टरदेखि आईसीयूका लागि आवश्यक सबै प्रविधि उपलब्ध भएकाले बिरामी (प्रधानमन्त्री) को सुरक्षा र गोपनीयता कायम रहने उनको भनाइ थियो ।

उनले भने, ‘ प्रधानमन्त्री ज्यूले एलआईसीयूमा सारेपछि हामीले चैनको श्वास फेर्न पाएका थियौ । नत्र त १० दिनसम्म आइसियूमा राख्दा सुरक्षाका हिसाबले अस्पतालकै कार्यकारी निर्देशकलाई जान अप्ठेरो थियो । किनकी मिडियाका पत्रकारहरुले निर्देशकलाई प्रधानमन्त्रीको बारेमा एक एक गरेर सोधेर हैरान पार्नुहुन्थ्यो । फेरि सबै कुरा बताउन पनि अप्ठेरो । त्यसकारण हामीले सुरक्षाका दृष्टिकोणले एलआईसीयूमा सार्यौ । त्यहाँ प्रविधिदेखि म्यूजिकसम्मको सुविधा थियो उहाँको लागि । त्यसमा संगीतबारे कुराकानी पनि प्रधानमन्त्री ज्यूले गर्नुहुन्थ्यो बेला-बेलामा ‘

यसका साथै प्रा.डा.आचार्यका अनुसार प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअगावै आइप्याड चलाएका थिए।