जक्सन टिभीको ‘भिडियो कन्टेस्ट’ हुदै

जक्शन टिभीले लकडाउनलाई लक्षित गर्दै ‘भिडियो कन्टेस्ट’ आयोजना गरेको छ । लकडाउनले दिक्क भएका व्यक्तिहरुलाई केही रमाईलोसँगै आफ्नो प्रतिभा देखाउने मौका पनि होस् भन्ने हेतुले कन्टेस्टको आयोजना गरिएको जक्शन ग्रुपले बताएको छ ।

‘हाउ क्रियटिभ मोबाइल भिडियो कन्टेस्ट’ नाम दिएको प्रतियोगितामा विश्वभरबाट सहभागिता जनाउन सक्ने र यो कन्टेस्टमा सहभागी भएर २५ हजार रुपैयाँसम्म जित्न सकिने जक्शन ग्रुपले बताएको छ । “लकडाउनले गर्दा सबैजना घरमै बस्नुपरेको छ र घरमा बस्दा बोरिङ भएकाहरुले आफ्नो प्रतिभा देखाउन सक्छन् भन्ने हाम्रो बुझाई हो । त्यसैले हामीले प्रतिभावान व्यक्तिहरुलाई भिडियो कन्टेस्टमा सहभागिताका लागि आह्वान पनि गर्दछौँ ” – जक्शन ग्रुपका प्रबन्ध निर्देशक अरुण गिरीले भने ।

कन्टेस्टका लागि सहभागीहरुले ३ मिनेटदेखि ५ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । उक्त भिडियो जक्शन ग्रुपलाई पठाउनुपर्नेछ । यसरी पठाईएको भिडियोहरु कन्टेस्टका लागि छनौट गर्ने र त्यसलाई प्रकाशनमा ल्याउने काम जक्शन ग्रुपलेनै गर्नेछ । जक्शन ग्रुपले आफ्नो अनलाईन टिभीमार्फत ती भिडियोहरु प्रकाशनमा ल्याउने गिरीले बताए ।

आयोजकका अनुसार सहभागीहरुले घरभित्र या घरबाहिरको परिसरमा मात्र भिडियो बनाउनुपर्नेछ र मोबाइलले खिचेर मोबाइलमै इडिट गर्नुपर्नेछ । २१ दिनको अवधीभित्र छनौट भई प्रकाशन भएका भिडियोहरुमा दर्शकले दिएको कमेन्ट, भ्यूज अनि कम्पनीले नियुक्त गरेको निर्णायक टोलीको निर्णयको आधारमा विजेता घोषणा गरिनेछ । कुनै पनि सहभागीले यो कन्टेस्टमा एक्लैले ५ वटा सम्म फरकफरक विधाका भिडियो बनाउन सक्ने आयोजकले बताएको छ ।

बैशाख ५ गते शुक्रबारदेखि शुरु हुने यो कन्टेस्टको अन्तिम नतिजा बैशाख २६ गते आउनेछ । प्रतिस्पर्धीहरुले बैशाख १९ गतेसम्म आफ्ना भिडियोहरु पठाईसक्नुपर्ने आयोजकको नियम छ । “प्रतिस्पर्धीहरुले अभिनय गर्ने, गीत गाउने, कविता वाचन गर्ने, व्यायाम गर्ने, जादु देखाउने, आर्ट गर्ने जस्ता विभिन्न प्रतिभाहरु भिडियोमा समेट्न सक्नेछन् ।” गिरीले भने – “यसले उनीहरुको प्रतिभालाई अझै निखार्ने काम गर्नेछ भने केही रकम जित्ने मौका पनि दिन सक्छ ।”

प्रतिस्पर्धीमध्ये प्रथम हुने भिडियोले १५ हजार र दोस्रो हुने भिडियोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेताहरुलाई बैंकिङ प्रणालीमार्फत पुरस्कार उपलब्ध गराईने जक्शन ग्रुपले जनाएको छ ।