प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेले २०२४ सालतिर लेखेको ‘उनको प्रिती’ बोलको गीतलाई रिभोकल हालिएको छ । २०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गीतलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा सार्वजनिक गरेका छन् ।

लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यहि भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए, ‘प्रेम गरिन्छ कि हुन्छ ?’ । त्यस्तै उनलाई घिमिरेले भनेको कुरा सम्झिँदै रायमाझीले भने, ‘संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गित तपाईलाई दिँदै छु , भनेर मलाई यो गीत दिनुभएको हो । ’

रायमाझीका हरेक गीत जनजनमा गुञ्जिएका छन् । गजदिस समाल र सपनाश्रीले पहिलो पटक २०६० सालमा गाएको यो गीतलाई नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र रचना रिमालले पुन गाएका छन् । संगीतकार रायमाझीले फेरि गीत गाउन लगाएका हुन् । संगीतकार रायमाझीसँग गायक जगदिश समाल र सपनाश्रीले गाएको गीतलाई रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

जसमा छायांकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीको छ । रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गीतमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।