बलिउड फिल्म ‘सूर्यवंशी’ले दिएको हौसला !

काठमाडौं- पछिल्लो लामो समय देखी ठप्प भएका फिल्म क्षेत्र केही समय देखी चलायमान नै देखिएको छ फिल्म हल चलायमान भएपनि दर्शकको आगमन हेर्दा चाँहि निराशजनक नै बन्यो । दशएकले हेर्न चाहेको फिल्म रिलिज गर्न निर्माता डराए । फिल्म रिलिज डेट लिन निर्माता निर्देशकले राम्रै पापड पेल्नु पथ्र्यो । यो वर्ष भने कुनै पनि निर्माता निर्देशकले दसैँमा फिल्म हलमा लगाउने आँट गर्न सकेनन् । उनीहरूले भने, ‘दर्शक हलसम्म आउँने वातावरण बनिसकेको छैन ।’

उनीहरुको यो तर्कलाई बलिउड फिल्म ‘सूर्यवंशी’ले हावा खुवाएको छ । तिहारको अवसर पारेर प्रदर्शन भएको फिल्म हेर्न हलमा दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको छ । कयौं ‘सो’ मा दर्शक टिकट नपाएर फर्किएका छन् । लामो समयदेखि सुनसान नेपाली सिनेमा घरको रौनक ‘सूर्यवंशी’ ले फर्काइदिएको छ । चलचित्र पारखीहरू भन्न थालेका छन्, ‘फिल्म राम्रो हुनुपर्छ, दर्शक आउँछन् ।’चलचित्र संघ र चलचित्र विकास बोर्डले दिएको विभिन्न सुविधालाई समेत वास्ता नगरी उनीहरु करोडौंको लगानी जोखिममा नपार्ने अडानमा बसे । अर्थात् कोरोनापछि दर्शक ओटीटी प्लेटफर्ममा आकर्षित भएको, हल जान डराएको लगायतका तर्क पेश गर्दै निर्माताहरु खुम्चिएरै बसे । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वरपीपल’ रिलिज गरेपनि त्यो बक्स अफिसमा लागि पर्याप्त बनेन ।

अरु बेलामा हिन्दी चलचित्रले नेपाली चलचित्रमाथि थिचोमिचो गर्यो भनेर चर्को बोली बोलेपनि यसपटक सबैजसो निर्माता हिन्दी चलचित्रकै आशमा बसे । तिहारमा रोहित सेट्ठीको निर्देशनमा बनेको चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तानिदियो भने बल्ल हामी पनि रिलिज गर्छौं भन्ने सोचमा देखिए निर्माता । तर अहिले भने बलिउड फिल्म ‘सूर्यवंशी’को व्यापारले नेपाली निर्मातालाई हौसला बढेको छ । डेढ वर्षदेखि तयार रहेर पनि फिल्म रिलिज गर्ने हिम्मत जुटाउन नसकेका निर्माताले फिल्म रिलिजको मिति तोक्न थालेका छन् । सोमबार यसको सुरुवात गरे निर्माता अर्जुनकुमारले । प्रदर्शनका लागि ठिक्क परेको समयमा महामारी आएपछि रोकिएको ‘चपली हाइट ३’ निर्माता कुमारले पुस २ गते रिलिज गर्ने घोषणा गरेका छन् । उनले दसैँ र तिहारमा नै फिल्म रिलिज गर्ने जमर्को गरे पनि दर्शक आउने कुरामा ढुक्क नभएपछि हच्किएका थिए । अहिले ‘सूर्यवंशी’ले भरमार व्यापार गरेपछि उनले धैर्य तोडेका हुन् । यो फिल्ममा महेश त्रिपाठी, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको मुख्य अभिनय रहेको छ ।

सोमबार नै प्रदीप खड्का अभिनीत ‘प्रकाश’ले पनि प्रदर्शन मिति सार्वजनिक गरेको छ । यो फिल्मले वैशाखको कुनै मितिमा प्रदर्शन हुने जानकारी गराएको छ । यकिन मिति भने घोषणा गरिसकेको छैन । यसअघि नै ‘ए मेरो हजुर ४’ ले चैत अन्तिममा सार्वजनिक हुने घोषणा गरिसकेको छ । भदौ १७मा सार्वजनिक हुने घोषणा गरेको फिल्म महामारीको दोस्रो लहरपछि रोकिएको थियो । ‘लप्पन छप्पन २’ले पनि प्रदर्शन मिति घोषणा गर्ने क्रमलाई निरन्तरता दिँदै शिवरात्रीलाई प्रदर्शन मिति बुक गरेर बसेको छ । कोरोना महामारीका कारण डेढ वर्षदेखि प्रभावित भएको मनोरञ्जन क्षेत्र तथा हलमा ‘सूर्यवंशी’ प्रदर्शनले सकारात्मक उर्जा प्रवाह गरेको घेरैको अनुमान छ ।