पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ ।

नवलपुर जिल्ला सरकारी वकिलको कार्यालयमा हिजो दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध १६ वर्षीया नाबालिग गायिकालाई भिडियो गीतको छायांकनका क्रममा बलात्कार गरेको उजुरीपछि सरकारी वकिलको कार्यालयले शाह विरुद्ध बलात्कारको अभियोगपत्र अदालतमा दायर भएको हो।

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका शाहसँग गैंडाकोट प्रहरीले बयान सकाएर बुधबार सरकारी वकिलको कार्यालयमा आवश्यक कागाजत बुझाएको थियो।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) मा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।

त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।