‘चिसो एष्ट्रे’मा श्रृष्टीः हल्ला धेरै, तर फितलो काम

नयिका श्रृष्टी श्रेष्ठले आजबाट रिलिज भएको फिल्म ‘चिसो एष्ट्रे’को प्रचारका क्रममा आफ्ना लागि यो फिल्म विशेष भएको बताइन् । यो फिल्मबाट आफूले धेरै कुरा सिक्न पाएको पनि उनको तर्क थियो । उनले त आफू हिरोसँग नाँच्ने नायिकाको रुपमा चित्रित हुन नचाहेको पनि प्रष्ट पारिन् । श्रृष्टीले यो कुरा बताइरहँदा उनले प्रेमी सौगात मल्लको सिफारिशमा केही फिल्ममा काम गरेको कुरा विर्सन हुँदैन ।

श्रृष्टीले ‘चिसो एष्ट्रे’मा दमदार नै काम गरेको तर्फ संकेत गरिरहँदा प्रिमियरमा फिल्म हेरेका पत्रकार र फिल्मीकर्मीले भने उनको कुरा पत्याउने ठाउँ देखेनन् । किनकी, यो फिल्ममा सबैभन्दा कमजोर अभिनय नै श्रृष्टीको छ ।

यतिसम्म कि, श्रृष्टीको डबिङमा समेत निर्देशकले ध्यान नदिएको देख्न सकिन्छ । श्रृष्टीको संवाद र उनको अभिनयको हाउभाउमा मेल नै खाएको छैन । अभिनयका हिसाबले पनि श्रृष्टी कमजोर देखिएकी छिन् ।

यसैले, ‘चिसो एष्ट्रे’बाट अभिनेता दिव्य देवलाई सबैभन्दा बढी फाइदा हुँदा श्रृष्टीको करिअरका लागि कुनै असर नपर्ने देखिन्छ । बरु, उनलाई यो फिल्मबाट फाइदा भन्दा घाटा धेरै छ ।

यसर्थ, फिल्म चल्नु अघि श्रृष्टीले किन फिल्म र आफ्नो भूमिकालाई लिएर उत्साहपूर्ण कुरा गरेकी हुन् त्यो उनलाई नै थाहा होला । तर, फिल्म हेरिसकेपछि भने श्रृष्टीको तारिफ गर्ने ठाउँ कतै भेटिदैन ।