अध्यक्षले सबैको मन राख्न खोज्दा खल्लो बनेको बोर्डको सम्मान

चलचित्र विकास बोर्डले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट आज शितल निवासमा प्रदान गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’ खल्लो देखिएको छ ।

वि.सं २०७६ सालका फिल्महरुलाई समावेश गरेर बोर्डले अवार्ड प्रदान गरेको हो । बोर्डले दिने अवार्ड अन्य संघसंस्थाहरुले दिने भन्दा विशेष र फरक हुन्छ । तर, अन्य संस्थाहरुले दिने जस्तै गरी बोर्डले सम्मानको त लाइन नै लगायो ।सिनियरदेखि फिल्म क्षेत्रमा उदाउँदै गरेका निर्माता, कलाकारहरुलाई बोर्डले किन र केका लागि सम्मानित गर्यो वुझ्न गाह्रो छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफ्ना पुरानादेखि नयाँ फिल्मीकर्मी साथीलाई अध्यक्ष भएको बेलामा सम्मान गरिहालौं न भनेर दर्जन बढी सम्मान राखेको छनक देखिन्छ ।

राष्ट्रले दिने अवार्डमा सम्मानित हुन पाउँदा जो कोहीलाई पनि गर्व लाग्छ । तर, दर्जन बढी फिल्मीकर्मीलाई विभिन्न नाममा सम्मान गर्दा त्यसको महत्व पनि घट्छ । अध्यक्ष दाहालले नजिकका फिल्मीकर्मीलाई खुशी पार्न खोज्दा पुरस्कारको वजन कम गराएका छन् ।

बोर्डले विशेष योगदान सम्मान भन्दै नायक राजेश हमाल, निर्माता तथा निर्देशक शम्भु प्रधान, नायिका चैत्य देवी सिंह, नायिका गौरी मल्ल, निर्माता चिरञ्जिवी बस्नेत, कलाकार रविन्द्र खड्का, नवल खड्का, निर्माता सुशिल पोखरेल, निर्मात्री शर्मिला पाण्डे, विकास बोर्डका सदस्य तथा निर्माता अर्जुन कुमार डंगोल, निर्देशक मदन घिमिरे, शंकर प्रसाद कोइराला, गायक राजेश पायल राई, संगीतकार सुरेश चन्द्र अधिकारी, राजु विक्रम थापा, नृत्य निर्देशक कमल राई, रंग पत्रकार विदुर गिरी, गायिका लक्ष्मी आचार्य, निर्देशक दीपाश्री निरौला, निर्देशक एनबी महर्जन, उदय सुब्बा, नायक सौगात मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वितरक गोपालकाजी कायस्थ, कलाकार रविन्द्र झा, कलाकार अर्जुन श्रेष्ठ, निर्माता सुशान्त कुमार श्रेष्ठलाई सम्मानित गरेको हो । बोर्डले २८ जना फिल्मीकर्मीलाई विशेष सम्मान प्रदान गरेको हो । २८ जना फिल्मीकर्मीलाई राष्ट्रपतिको हातबाट सम्मान प्रदान गर्दै बोर्डले सम्मानको महत्व नै राख्न नसकेको देखिन्छ ।

यस्तै, बोर्डले बोर्डका कर्मचारीहरुलाई पनि कार्यसम्पादनका आधारमा सम्मानित गरेको हो ।