फिल्म ‘म यस्तो गीत गाउँछु २’को बिदेश यात्रा सुरु

फागुण १३ गतेबाट रिलिज भएको नेपाली सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को बिदेश यात्रा मे महिनाबाट सुरु हुने भएको छ ।

यो फिल्मलाई विश्वभर रिलिजका लागि नेपसिनेले जिम्मा लिएको छ । आज, फिल्मका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग संझौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपसिनेले यो फिल्मलाई विश्वभर वितरण गर्नेछ । यस्तै, अमेरिका र क्यानडमा फिल्मको प्रदर्शनको जिम्मा पनि नेपसिने कम्पनीले नै लिएको छ ।

यो फिल्मको अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडा र हङकङ रिलिजका लागि संझौता भैसकेको फिल्मका निर्माता तथा निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

फिल्मलाई अमेरिका र क्यानडामा नेपसिनेले प्रदर्शन गर्नेछ भने यूकेमा मिफुरुङ यूथ, यूके मगर एसोसियसनले प्रदर्शनको जिम्मा लिएको छ । यस्तै, अष्ट्रेलियामा फिल्मलाई नेपाली टचले प्रदर्शन गर्ने जिम्मा लिएको छ । अमेरिका र क्यानडामा भने नेपसिनेले नै फिल्मलाई प्रदर्शन गर्नेछ ।

फागुण १३ गतेबाट रिलिज भएको यो फिल्मले नेपालमा ब्लकबस्टर व्यापार गरेको थियो । नायक पल शाह, नायिका पूजा शर्मा, कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको यो फिल्मलाई निर्देशक थापाले सांगीतिक लभ स्टोरी कथामा निर्माण गरेका छन् । फिल्मको कथा नायक पल शाहको वर्तमान घटनासँग पनि धेरै हदसम्म मिलेको प्रतिक्रिया नेपाली दर्शकले दिएका थिए ।

कोरोना महामारीपछि पहिलो ब्लकबस्टर फिल्मको रुपमा प्रस्तुत भएको ‘म यस्तो गीत गाउँछु २’लाई नेपालमा जस्तै नेपाल बाहिर रहेका नेपाली दर्शकले पनि मन पराउने विश्वास नायिका पूजा शर्माले गरिन् । यस्तै, फिल्मका निर्देशक सुदर्शन थापाले भने–‘फिल्मलाई नेपालका दर्शकले निक्कै मन पराउनुभयो । नायक पल शाहको बर्तमान वास्तविक घटनासँग मिल्न गएकाले पनि दर्शकका लागि यो कथा सरप्राइज जस्तै भएको छ । विदेशमा बस्नुहुने नेपालीहरुले पनि फिल्मलाई मन पराउनुहुनेछ भन्नेमा ढुक्क छु ।’

यस्तै, फिल्मका लागि अन्य विभिन्न देशबाट पनि कुरा आइरहेको नेपसिनेका नेपाल प्रमुख विधानले जानकारी दिए । उनले, फिल्मलाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र फिल्मको निर्माण टिमसँग सम्पर्क गर्न सकिने जानकारी गराए । जन्म जय साम्पाङ राई सह–निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।