‘लक्का जवान’को कमजोर ओपनिङ

फिल्म ‘मन्त्र’पछि ‘लक्क जवान’ले पनि बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ । शुक्रबारबाट रिलिजमा आएको यो फिल्मले २ दिनको इनिसियल व्यापार निक्कै नै कमजोर गरेको छ ।

शुक्रबार र शनिबार नै हलमा दर्शकको चाप कम देखियो । राम्रो प्रचार प्रसारका बाबजुत पनि यो फिल्मलाई दर्शकले खासै रुची देखाएका छैनन् । कतिपयले, स्थानीय निर्वाचनको मारमा यो फिल्म परेको विश्लेषण समेत गरेका छन् ।

शिवहरि पौड्यालको निर्देशनमा तयार भएको फिल्ममा हाँस्य कलाकारहरुको ठूलो भीड छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौड्याल, सुशिल पोखरेल, सरोज खनाल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

कमेडी बिषयवस्तुका साथै सामाजिक सन्देश दिन सफल यो फिल्मप्रति दर्शकको रुची नहँुदा मेकरले अब सोचेर मात्र फिल्म बनाउनुपर्ने देखिएको छ । ध्रुव वन्तको लगानीमा बनेको यो फिल्मले निर्वाचनपछि दर्शक हलसम्म तान्ने विश्वास निर्माणपक्षको छ ।