अनमोलले छाडेको ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यूको इन्ट्री

नायक अनमोल केसीले केही असन्तुष्टीका कारण छाडेको फिल्म ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यू तोमरको प्रवेश भएको छ । यो फिल्ममा अब भारतीय मोडलले नेपाली नायिका जसिता गुरुङसँग सहकार्य गर्नेछन् ।

अनमोलले फिल्म छाडेपछि निर्देशक दिवाकर भट्टराई तनावमा थिए । तर, लण्डन पुगेर उनले नायिकामा जसितालाई साइन गरेका थिए । त्यसको केही दिनपछि अभिमन्यूको पनि फिल्ममा प्रवेश भएको छ ।

अभिमन्यूले अभिनय गरेको गीत ‘याद पिया के आने लगी’ सर्वाधिक चर्चामा थियो । दिवाकरले यसअघि आफ्नो फिल्म ‘तिमीसँगै हुने मन छ’मा रोहित सुचान्तीलाई साइन गरेका थिए । तर, यो फिल्म बन्न सकेन ।

बेलायतमा यो फिल्मको सम्पूर्ण दृश्यको छायांकन हुनेछ । यो फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् । उनी, फिल्ममा अभिनय गर्नका लागि बेलायत पुगिसकेका छन् । फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।