नेपाली फिल्म ‘आदर्श नारी’का निर्देशक हेम लामाको निधन

नेपाली फिल्म ‘आदर्श नारी’का निर्देशक हेम लामाको निधन भएको छ । अभिनेता तथा पाइलट विजय लामाका पिता समेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।

छोरा विजय लामाले सामाजिक सञ्जालमार्फत हेमको निधन भएको जानकारी गराएका छन् । लामा करिब दुइ सातादेखि स्वास्थ्यमा कठिनाई आएकोले मनमोहन अस्पताल स्वयम्भूको सीसीयूमा भर्ना भएका थिए । स्वर्गीय लामाको सोमबार बौद्ध धर्मको नियम अनुसार स्वयम्भूको चिहानमा अन्तिम संस्कार गरिनेछ ।

पिताको निधनपछि लामाले आफ्नै हातमा पिताले अन्तिम सास फेरेको उल्लेख गरेका छन्। ‘मेरो आमा पनि यसै गरी मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ सेप्टेम्बरमा १ मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरु सँगै भएकोमा आफूलाई भाग्यशाली ठान्दछु तर के गर्नु आखिर मन त हो नि १ भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। लामाले आफ्नो पिता सबैका लागि मित्र र शक्तिको स्रोत भएकोसमेत उल्लेख गरेका छन्। भोलि बुद्ध जयन्तीका दिन बालुवाटारस्थित आफ्नै निवासमा अन्तिम बिदाइ गरिने उनले जानकारी गराएका छन्।