सुरक्षा पन्तलाई २ सफलताः बैशाखमा राष्ट्रिय अवार्ड, जेठमा कान्सको रेडकार्पेटमा उपस्थिती

अध्ययनले इन्जिनियरिङ रोजेपनि सुरक्षा पन्तको मन भने नेपाली फिल्ममा ज्यादा छ । उनी अभिनित पछिल्लो फिल्म ‘आमा’बाट उनले खुबै तारिफ पाइन् । सोही फिल्मबाट सुरक्षाले वैशाखमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार समेत थापिन् ।

उनै, सुरक्षा पन्तले जेठ महिनामा अर्को नयाँ सफलता हात पारिन् । विश्वका अधिकांश कलाकारको सपना भन्ने गरेको ‘कान्स फिल्म फेस्टिभल’को रेडकार्पेटमा सुरक्षाले पाइला राखेकी छिन् ।

यसअघि नायिका प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुगेपनि उनी रेड कार्पेटमा सहभागी हुन पाएकी थिइनन् । तर, सुरक्षा भने विश्वका चर्चित सेलिब्रिटीहरुको साथमा रेड कार्पेटमा रातो गाउनमा देखिइन् । उनका लागि यो अर्को सफलता हो ।

नेपाली फिल्म ‘अझै पनि’मा सह–नायिकाको रुपमा काम गरेकी सुरक्षा आज फिल्म क्षेत्रमा अभिनयका कारण चर्चामा छिन् । साथै, उनका तार्किक जवाफले पनि उनलाई दर्शकले रुचाएका छन् ।

सुरक्षा आफूले अभिनय गरेको इटाली र बेलायती फिल्म ‘द एइट् माउन्टेन्स’को प्रिमियरका लागि फ्रान्स पुगेकी हुन् । नेपाल र इटालीका हिमालमा छायांकन गरिएको यो फिल्ममा सुरक्षाको पनि मुख्य भूमिका छ । कान्स फिल्म फेस्टिभल १२ दिनसम्म चल्नेछ । जहाँ, बलिउडका नायिकाहरु ऐश्वर्या राय, दिपिका पादुकोण, पूजा हेग्डे लगायत उपस्थित छन् ।