‘कबड्डी ४’ले बक्स अफिसमा उछाल ल्याउने आशा

करिब एक महिनादेखि सुस्ताएको नेपाली फिल्मको बक्स अफिसलाई शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘कबड्डी ४’ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । दर्शकले समेत अत्याधिक प्रतिक्षा गरेकाले यो फिल्म बक्स अफिसमा चम्कने विश्लेषण फिल्मी पण्डितहरुको छ ।

फिल्म ‘कबड्डी ४’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो फिल्मका अघिल्ला ३ सिरिजले बक्स अफिसमा बम्पर कारोबार गरेका थिए । रामबाबुले चौथो सिरिजलाई अन्तिम भनेका छन् । यो कारणले पनि दर्शकको फिल्मप्रतिको कौतुहलता बढेको पाइन्छ ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले मल्टिप्लेक्समा समेत उल्लेख्य शो पाउने निश्चित छ । यसैले, पनि यो फिल्मको इनिसियल व्यापार समेत बम्पर हुने अपेक्षा गर्न सकिन्छ ।

यसपटक काजीको बिहे हुन्छ या हुँदैन भन्ने प्रश्नले पनि दर्शकलाई फिल्मप्रति उत्सुकता बढाएको छ । मोफसल दौडमा रहेको फिल्मको टिमले दर्शकलाई फिल्मको बारेमा जानकारी दिइसकेको छ । फिल्मको ट्रेलर र ‘जुनेली’ बोलको गीत सुपरहिट भैसकेको छ ।