मल्टिप्लेक्समा ‘कबड्डी ४’लाई उच्च शो, बम्पर ओपनिङको संकेत

देशभरका मल्टिप्लेक्स हलले शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘कबड्डी ४’लाई उच्च शो दिएका छन् । नेपाली फिल्मले यति धेरै शो पाएको यो पहिलो पटक हो । फिल्मले देशभर उच्च शो पाएसँगै यसको बुकिङ पनि आक्रामक हुने देखिएको छ । फिल्मको बुकिङ सोमबार नै खुलेसँगै दर्शकको उत्साह फिल्मलाई लिएर देखिएको छ ।

रामबाबु गुरुङ निर्देशित हिट फिल्मको चौथो सिरिजलाई नयाँ बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज्ले १० शो दिएको छ । यस्तै, देशकै ठूलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई ८७ शो उपलब्ध गराएको छ ।

बीग मुभिजले मात्र फिल्मलाई १५ शो दिएको छ भने चाबहिलमा रहेको एफक्यूब हलले यो फिल्मलाई १० शो दिएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मले पहिलो दिनमा एक करोड माथिको व्यापार सहजै गर्ने देखिएको छ ।

दर्शक र प्रदर्शक दुबैले फिल्मप्रति विश्वास देखाएका छन् । ३ दिनको विकेन्डका कारण पनि फिल्मको बम्पर ओपनिङमा मद्दत मिल्ने देखिन्छ ।