‘एक्स ९’मा निती शाह अनुवन्धित, अनमोलसँग रोमान्स गर्ने

एक्सन जनरामा निर्माण हुन लागेको फिल्म ‘एक्स ९’मा नव–नायिका निती शाह फाइनल भएकी छिन् । नितीले आज यो फिल्मका निर्देशक तथा निर्माता मुकुन्द भट्टसँग फिल्मका लागि लिखित संझौता गरेकी हुन् । ‘एक्स ९’ नितीले काम गर्न लागेको पहिलो फिल्म हो । यसअघि उनले फिल्म ‘हुतुतु’ पनि साइन त गरेकी थिइन्, तर यो फिल्म बन्ने या नबन्ने फाइनल भएको छैन ।

यो फिल्ममा नायक अनमोल केसी, पुष्प खड्का लगायतका कलाकार फाइनल भैसकेका छन् ।

फिल्मको छायांकन यूरोप, क्यानडा लगायतका स्थानमा गर्ने तयारी निर्माता तथा निर्देशक भट्टको छ । महंगो बजेटमा बन्ने भनिएको यो फिल्म यसअघि नै छायांकनमा जानुपर्ने हो । तर, प्राविधिक कारण देखाउँदै फ्रेबुअरीमा यो फिल्मको छायांकन सुरु हुन सकेको थिएन । नेपालकै सबैभन्दा महंगो एक्सन प्रधान फिल्म भन्दै मुकुन्दले फिल्मको प्रचार गरिरहेका छन् ।

नायिका निती शाहले आफूले नेपालको सुपरस्टार नायकसँग फिल्ममा डेब्यू गर्न चाहेको बताएकी थिइन् । उनको यो चाहना अनमोलसँग काम गरेपछि पुरा हुने भएको छ । नितीले फिल्मका लागि २० लाख पारिश्रमिक लिएको वुझिएको छ ।