‘पलहरु’मा सनुप पौडेल

सनुप पौडेलको ‘पलहरू’ सार्वजनिक भएको छ ।

मान्छेले आफूमा समेट्ने भनेकै आफूले बाँचेका पलहरू हुन्’, गायक सनुप पौडेल यसो भन्छन् । ‘केही पल एक्लै बाँचिएका पलहरू हुन्छन् भने, केही अरूका साथमा बिताइएका पलहरूु, सनुप थप्छन् । ‘अरूसँग साटिएका केही पलहरू मान्छेलाई जीवन पर्यन्त पनि याद रहन सक्छन्’, गायक सनुप यस्तो विस्वास गर्छन् ।

‘पहिलो पिरती, तिम्रो देशैमा, यस्तै सम्बन्ध, दैव हे ! लगायतका कर्णप्रिय गीत गाएर दर्शक र श्रोताको माया पाएका गायक सनुप पौडेलले आफ्नो युट्युब च्यानलमार्फत ‘पलहरू’ शिर्षकको गीत हालै सार्वजनिक गरेका छन् ।

‘पलहरू’ गीतमा सफर पोखरेलले शब्द दिएका छन् भने, रोमी बस्नेतले संगीत भरेका छन् । रोमीकै संगीत संयोजनमा सनुपले आवाज दिएका हुन् । यस गीतलाई हतारको गीतभन्दा पनि समय लगाएर बिस्तारै तयार गरिएको रोमी र सनुप बताउँछन् । उनीहरू आशा गर्छन्, गीत लामो समयसम्म श्रोताको मनमा बसिरहनेछ ।

सफर पोखरेल र सनुप पौडेलको यो तेस्रो प्रकाशित सहकार्य हो । यसअघि ‘अधुरो अपुरो’ र ‘प्रश्न’ शिर्षकका दुई गीतमा उनीहरूले सहकार्य गरेका थिए ।

गीतको म्युजिक भिडियोलाई कृपा अर्यालले निर्देशन गरेकी हुन्, जसमा असीम रानाभाट र रिकी रानाले अभिनय गरेका छन् । यस गीतको भिडियो सम्पादन रूपेश खड्काले गरेका हुन्।