के ‘२ नम्बरी’ ‘कबड्डी ५’ हो ? यसो भन्छन् निर्देशक

‘घामपानी, गोपि, छ माया छपक्कै’ जस्ता फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको नयाँ फिल्म ‘२ नम्बरी’को टिजर मंगलबार सार्वजनिक भएको छ । यो टिजरले दर्शक, मिडियाकर्मी र समीक्षको उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

व्यवसायिक कोणबाट पनि फिल्मको टिजरलाई अधिकांशले उत्कृष्ट भनेका छन् । तर, योसँगै फिल्ममा ‘कबड्डी’को स्वाद आएको प्रतिक्रिया कतिपयको छ । कतिपयले यसलाई ‘कबड्डी ५’ समेत भनेका छन् ।

यो बिषयमा कुरा गर्दै निर्देशक दीपेन्द्र लामाले मानिसहरुले आफ्नो आफ्नो तरिकाले अड्कल लगाउन पाउने बताए । उनले भने–‘सबैले आफ्नो तरिकाले अनुमान लगाउन पाउनुहुन्छ । तर, लेखक तथा निर्देशक भएको नाताले फिल्म कबड्डीको कुनै पनि प्लट वा बिषयसँग मिल्दैन । यसमा दयाहाङ राई र सौगात मल्ल भएका कारण पनि दर्शकलाई त्यस्तो लागेको हुनुपर्छ । तर, यसको कथावस्तु, प्रस्तुति सबै अलग छ ।’

‘कबड्डी’को चारैवटा सिरिजले काजीको बिहेको कथा उठाएको भन्दै उनले ‘२ नम्बरी’ कथा विल्कुलै फरक भएको लामाको भनाई छ । उनले, दर्शकले फरक स्वादमा अर्गानिक कथामा फिल्म हेर्न पाउने समेत बताए ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।