बिष्णु माझीको तीज गीतः ब्रान्डको लोभले बर्बाद

गायिका बिष्णु माझीको स्वरका फ्यान हजारौं छन् । गुमनाम यी गायिकाको गीत नआएसम्म तीज नै आएको महशुश हुँदैन भनेर थुप्रै दर्शकले प्रतिक्रिया पनि दिन्छन् । यसैले, पनि बिष्णु माझीको तीज गीत बजारमा कतिबेला आउँछ र बाँकी तीज गीतलाई सखापै पार्छ थाहा हुँदैन ।

तीजमा सबै गायक–गायिका एकातिर, बिष्णु माझीको तीज गीत अर्कोतिर जस्तै हो । गतबर्ष ‘चरी जेलैमा’ सार्वजनिक गरेर माझीले हंगामा नै मच्चाइन् । यो गीत आएपछि तीजका अन्य सबै गीत ओझेलमा परे । यो गीतको चर्चा अझै पनि उस्तै छ । यो बर्ष पनि सय बढी तीज गीत सार्वजनिक भैरहँदा माझीका गीत प्रतिक्षा गर्ने दर्शक र मिडियाकर्मी खुबै थिए ।

तर, बुधबार बेलुकी माझीका श्रीमान् सुन्दरमणी अधिकारीले ‘चरी जेलैमा २’ सार्वजनिक गरे ।

यसपटक, बिष्णु माझीको स्वरको जाँदु उस्तै छ । तर, संगीत र शब्दमा नयाँपन छैन । यसपटक पनि सुन्दरले महिलाको बेदना नै पोखेका छन् । तर, पुरानै भाकामा केही शब्द परिवर्तन गरेर उनले गीत बनाउँदा फिक्का देखिएको छ ।
फिल्ममा जस्तै नाम उही राखेर ब्रान्ड बिकाउन खोज्दा बिष्णु माझीका गीत कुर्ने दर्शक निराश छन् । हिट ब्रान्डको पछाडि २ थपेपनि गीतको भाका र प्रस्तुति फरक हुने आशा दर्शकलाई थियो । सुन्दरमणीले यसपटक पहिलेको ब्रान्ड बिकाएर पैसा त कमाउन खोजे, तर चलाख दर्शकले उनको चाल थाहा पाएका छन् ।

यसपटक, बिष्णु माझीको गीतले तीजमा तहल्का नपिट्ने पक्का छ । यसले, अन्य गायक–गायिकालाई राहत पक्कै हुनेछ ।