भुवनले मागे ११ बजेपछि फिल्म चलाउन चाहने हलको सूची

फिल्म ‘प्रेमगीत ३’को टिमले रातको ११ बजेपछि फिल्म नै नचलाउनु भन्दै विकास बोर्डले उर्दी जारी गरेको भन्दै आपत्ती जनायो । आफूहरुको फिल्मलाई नै लक्षित गरेर यो सूचना निकालिएको उनीहरुको आरोप छ । तर, विकास बोर्डले ११ बजेपछि जिल्ला प्रशासन कार्यलयबाट सुरक्षाको अनुमति लिएर शो चलाउन पाउने उल्लेख गरेको छ ।

यसैविच, चलचित्र संघका सदस्यहरुसँगको अनौपचारिक छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले रात्रीकालिन शो चलाउन चाहने हलहरुको सूची दिन आग्रह गरेका छन् । विकास बोर्ड श्रोतले भन्यो–‘ठूलो नेपाली फिल्म रिलिज हुँदैछ । यसैले, कुनै हलले रात्रीकालिन शो चलाउन चाहेको खण्डमा सूची दिन आग्रह गरेका हौं । यदि, सूची आएको खण्डमा जिल्ला प्रशासन कार्यलयसँग विकास बोर्डले पनि पहल गर्ने सोच बनाएको हो ।’

यसका लागि केही हलले जिल्ला प्रशासन कार्यलयसँग सुरक्षाको प्रत्याभुतीसहित हल चलाउने अनुमती लिने कोशिश पनि गरिरहेका छन् ।

फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेन र नायक प्रदीप खड्काले विकास बोर्डले आफूहरुलाई सकाउन यो नियम ल्याएको गम्भिर आरोप लगाएका थिए । तर, चलचित्र विकास बोर्डले यस बिषयमा कुनै भनाई सार्वजनिक गरेको छैन । बरु, चलचित्र संघका पदाधिकारीसँग अनौपचारिक कुराकानीमा हलको सूची दिन आग्रह भने गरिएको छ ।