सेन्सर झमेला र कमजोर व्यापारले नेपालमा विदेशी फिल्म रिलिज ओरालो लाग्दै

भोलीबाट नायक आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘एक्सन हिरो’ रिलिज हुँदैछ । केही फरक कथामा काम गर्न रुचाउने आयुष्मानका फ्यान नेपालमा राम्रै छन् । तर, लकडाउन पछि नेपालमा आयुष्मानका मात्र होइन, नाम चलेका स्टारका फिल्मले समेत हावा खाइरहेका छन् । अझ, यसो भनौं बलिउड फिल्मले वितरकलाई राम्रैसँग डुबाएका छन् ।

यसैले, वितरकले पनि बलिउडका औषत बजेटका फिल्म नेपाल ल्याउन छाडेका छन् । यसको पछाडि अर्को कारण, चलचित्र विकास बोर्डले कार्तिक १ गतेबाट लागू गरेको सेन्सरको नयाँ नियम पनि हो ।

कार्तिक १ गतेबाट कुनै पनि फिल्म सेन्सरको अनुमती लिनका लागि एकसाता अगाडि नै सम्पूर्ण कागजपत्र वुझाउनुपर्छ भन्ने नियम लागू भएको छ । जसकाकारण, पछिल्लो समय भारतमा रिलिज भएकै दिन नेपालमा पनि हिन्दी फिल्म रिलिज गर्न समस्या हुन थालेको छ ।

जस्तो, सेन्सरका लागि कागजपत्र वुझाउन नसकेका कारण फिल्म ‘राम सेतु’ नेपालमा ढिलो रिलिज भयो । वुझिएअनुसार, कागजपत्र ढिलो हुने भएकै कारण भारतमा डिसेम्बर १६ तारिखबाट रिलिज हुन लागेको प्रतिक्षित फिल्म ‘अवतार’ नेपालमा एकसाता पछि मात्र रिलिज हुनेछ । यसको असर, हिन्दी फिल्म ‘सर्कस’लाई पनि पर्ने भएको छ । डिसेम्बर २३ देखि भारतमा रिलिज हुन लागेको यो फिल्म नेपालमा एकसाता पछि रिलिज हुँदैछ ।

एक सातापछि नेपालमा हिन्दी फिल्म रिलिज गर्दा त्यसको प्रभाव खासै पर्दैन । अर्कोतिर, दर्शकले पनि खुबै हाइप भएका वा प्रतिक्षा गरेका फिल्म बाहेक अरुमा मन बनाउन छाडेका छन् । जसलेगर्दा, वितरक राम्रैसँग डुबेका छन् । यसकारण, नेपालमा हिन्दी फिल्मको रिलिज आँकडा कम बन्दै गएको छ । रिलिज भएपनि विदेशी फिल्म एक सातापछि मात्र रिलिज हुन थालेका छन् ।