फ्लप हिरोइन भन्दा नम्रतालाई कस्तो लाग्छ ?

फिल्म हातमा कम भएपनि मिडियामा चर्चामा आइरहने नायिका हुन्, नम्रता सापकोटा । नम्रताको अभिनय रहेको फिल्म ‘डेसान’ मंसिरको २३ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा नम्रताले नकारात्मक भूमिका निर्वाहा गरेकी छिन् । नम्रताले यसपछि राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘नम्बरी सुन’ साइन गरेकी छिन् । यो फिल्मको कथावस्तु आफूलाई निक्कै मन परेपछि काम गर्न तयार भएको नम्रताको तर्क छ ।

नम्रताले ‘छक्का पन्जा’पछि नाम चलेका मेकर र ब्यानरको फिल्म खासै पाएकी छैनन् । उनले अभिनय गरेका फिल्म चलेका पनि छैनन् । यसैले, मिडियामा उनलाई फ्लप नायिकाको ट्याग समेत लाग्ने गरेको छ ।

तर, नम्रता यो कुरा स्विकार गर्न तयार छैनन् । उनी भन्छिन्–‘फिल्म क्षेत्रमा आएको एक दशक बढी भयो । मैले आजसम्म काम नपाएर खाली बस्नु परेको छैन । दर्शकले मलाई मन पराएर नै त मेकरले पनि काम दिइरहनुभएको छ । फिल्म नपाएर अन्ततिर भौतारिनु पनि परेको छैन । यसैले, फ्लप नायिका भन्दा मलाई कुनै असर नै पर्दैन ।’

नम्रताले करिअरको सुरुवाती दिनमा यस्ता खालका समाचार आउँदा दुःख लागेपनि अहिले भने यस्ता कुरालाई वेवास्ता गर्दै अगाडि बढ्ने गरेको तर्क गरेकी छिन् । नम्रताले कुनै फिल्म ठूलो र कुनै सानो भन्ने नहुने पनि बताइन् । उनले, एउटा कलाकारले काम देखाउन पाउने फिल्मबाट अफर आयो भने गर्नुपर्ने उनको भनाई छ ।