Joy Ads

हरर कम हाँसो ज्यादा – फिल्म ‘सुनकेसरी’ समीक्षा

- मेराेफिल्म

एउटै जनराका फिल्म एकपछि अर्को गर्दै बन्ने नेपाली सिनेमा उद्योेगमा फरक फरक जनराका फिल्म निर्माण हुनु उद्योगको विविधताका लागि राम्रो कुरा हो । फिल्म ‘आधा लभ’ बनाएर आधा तारिफ पनि पाउन नसकेकी ऋचा शर्माले अर्पण थापासँग मिलेर हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी छिन् ।

तर, नेपाली फिल्म उद्योगको अहिलेसम्मको दुर्भाग्य के हो भने फरक विधामा फिल्म निर्माण चाँही गर्ने तर ढंग नपुर्याउने । सुनेकेसरी यसैको पछिल्लो संस्करण बनेको छ । अर्पण थापा र ऋचा शर्माले आउट अफ बक्स जाने हिम्मत त गरेका छन् तर त्यसलाई विधाको मर्म अनुसार लिएर जाने खुबी देखाउन सकेका छैनन् ।

हरर जनरामा निर्माण गरिएको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने राम्रै प्रयत्न गरेको छ । तर फिल्म मेकिङका हिसाबले यो फिल्मले जति दर्शक तान्ने खुबी राख्नुपर्ने हो, त्यति चित्त बुझाउन सकेको छैन ।

ब्वाइफ्रेन्डले धोका दिएका कारण डिप्रेसनमा रहेकी सुनकेसरी (ऋचा शर्मा)लाई उसको साथीले बाहिर जाने सुझाव दिन्छे । साथीको सुझावलाई मनन गर्दै सुनकेसरी कुनै सुनसान होटलमा पुग्छे ।

यो होटलमा बस्छ केवल काम गर्ने यादव (रविन्द्र झा) । पछि यही होटलमा हनिमुन मनाउने भन्दै आउँछ, एउटा जोडी । तर तिनको आगमनसँगै घट्न थाल्छन् अनौठा घटना । यो क्रममा सुनेकेसरी र नवविवाहित जोडीले के के भोग्नु पर्छ, फिल्म सुनकेसरी यसैको वरिपरी बुनिएको छ ।

कथानकको हिसाबले यो कथामा खासै नयाँ केही छैन, भूतले तर्साउनु नै केन्द्रीय द्धन्द्ध हो फिल्मको । फिल्मको राम्रो पक्ष भनेको यसको छायांकन (पूरै होइन) र पात्रको अभिनय हो ।
अभिनयका हिसाबले फिल्मकी प्रमुख चरित्र ऋचा शर्माको अभिनय ठिक छ । उनले आफ्नो भूमिकालाई सक्दो वास्तविक र विश्वसनीय बनाउन खोजेकी छिन् । फ्रस्टेसनमा परेकी एक युवतीको भूमिकामा देखिएकी ऋचा अभिनयका हिसाबले स्वभाविक देखिएकी छिन् ।

त्यस्तै अस्ट्रेलियन अभिनेत्री लोरेन लोफबर्गको अभिनयले पनि चित्त बुझाउँछ, तर जब एउटा गीतमा उनी अर्का मुख्य अभिनेता सन्नी ढकालसँग अभिनय गरिरहेकी हुन्छिन्, ती दृश्यमा न अभिनय सुहाउँदो देखिन्छ, न त छायांकन पक्ष नै । ढकालको भूमिका सुहाउँदो त छ तर अभिनयमा उनले त्यति दम दिन सकेका छैनन् । बरु सानी सुनकेसरीको भूमिकामा देखिएकी बालकलाकार एमी पराजुलीको अभिनय अब्बल छ । उनको अभिनयले बेलाबेलामा साँच्चिकै उनी भूत नै हुन् कि, भन्ने पारिदिन्छ । यो फिल्मको सुखद पाटो हो ।

फिल्मको मेकिङ मात्र हैन, यसको लेन्थलाई पनि हलिउड फिल्मकै जस्तो बनाउन खोजिएको छ । फिल्ममा प्रयोग भएका साउन्ड इफेक्ट र कलर करेक्सनले पनि हलिउड फिल्मकै झल्को दिन्छ । तर, फिल्म समग्रमा भने कमजोर छ जसका कारण सम्भावना हुँदाहुँदै पनि यो एक स्तरीय फिल्म बन्नबाट पूरै चुकेको छ । हरर भनिएकाले फिल्मले तर्साउँछ कि भन्ने हुन्छ त्यो भयलाई फिल्म आफैले मारिदिन्छ । अझ कच्चा त यसको छायांकन राम्रो हुँदाहुँदै पनि मधुरो प्रकाशमा देखिएका असम्पादित लाग्ने केही भिडियो फुटेजलाई लिन सकिन्छ । लोकेसनका हिसाबले भने यो फिल्म सुहाउँदो छ ।

फिल्म औसत हुनुको मुख्य कारण यसको मेकिङ नै हो । फिल्मले तर्साउने कम र हँसाउने बढी गर्छ । अब त एकदमै सातो उडाइदिन्छ कि भन्ने पारिदिन्छ तर अन्तमा स्थिति फुस्स हुन्छ । फिल्मको अन्ततिर जसरी बलियो बनाउन खोजिएको छ, त्यसका आधारमा अगाडिका धेरै दृश्य अनावश्यक लाग्छन् । फिल्म मूल कथामा आउन धेरै लामो समय लगाएको छ । बरु कमेडीलाई हटाएर त्यसको सट्टामा भूतकै भय उत्पन्न गर्नुपर्ने थियो । फ्रस्टेजन छल्न सुनकेसरी अनकन्टार होटलमा जाने अनि हनिमुन मनाउन पनि त्यही अनकन्टार होटल रोज्ने परिस्थितले फिल्मको आधार नै कमजोर बनाएको छ ।

यद्यपि नयाँ जानरामा फिल्म निर्माण गर्नु अर्पण र ऋचा दुवैका लागि जोखिम थियो । विदेशका हरर फिल्म निरन्तर हेर्ने दर्शकका लागि त यो फिल्म दर्शक बिच्काउने फिल्म नै हो तर घरेलु दर्शक यसमा रमाइलो पनि मान्न सक्छन् । तर्साउने कम र हँसाउने बढी यो ‘हरर’ सिनेमाले दोस्रो सिक्वेलमा अब के होला भन्ने कुरालाई भने दिमागमै अल्झाएर हलबाट बाहिर निकाल्छ ।

२०७५ जेठ १४ गते १०:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate