दिनेश राउतः ‘बिद्रोही, जिद्दी कि मुर्ख’ निर्देशक ?

विजय ‘आवाज’

मंगलबार आयोजना भएको फिल्म ‘प्रकाश’को ट्रेलर रिलिज कार्यक्रममा नायिकाद्धय दिया मास्के र रेनु योगीले यो फिल्मका निर्देशक दिनेश राउतलाई २ कोणबाट चित्रित गरे । रेनुको नजरमा दिनेश ‘बिद्रोही’ निर्देशक हुन् भने, दियाको नजरमा ‘जिद्दी’ । यी दुबै शब्दमा ठूलो अन्तर छ । रेनुले जुन नजरमा दिनेशलाई वुझेकी छिन्, दियाले ठ्याक्कै उल्टो रुपमा वुझेको देखियो ।

तर, ‘आई एम सरी’बाट सुरु भएको फिल्म निर्देशन यात्रामा दिनेशले धेरै फिल्म नगर्नुले उनी कही कतै समय अनुसार चल्न नसक्ने निर्देशक हुन् कि भन्ने पनि लाग्छ ।

फिल्म ‘प्रसाद २’ बनाउने कुरामा दिनेश असन्तुष्टी थिए । कारण, उनले कुनै पनि फिल्मलाई दर्शकले मन पराइसकेपछि त्यसको यात्रा सोही स्थानमा टुंगिने बताउँदै नामको पछाडि २ झुन्ड्याएर बनाउँदा त्यो ब्रान्डको क्रेडिट मात्र खान खोजिएको हुने भनेर तर्क गरे । यसअर्थमा, दिनेश ‘बिद्रोही’ निर्देशक हुन् । किनकी, एउटा हिट फिल्मको सिरिजमा काम गर्दा निर्देशकले नाम र पैसा दुबै कमाउँछ । उनी, यसको मोहमा लागेनन् । फिल्म बनाउनका लागि बनाउनु हुँदैन भन्ने सिद्धान्तलाई अबलम्बन गरेर उनले काम गरेको देखियो ।

कसै कसैले त उनलाई ‘मुर्ख’ निर्देशक पनि भन्न सक्छन् । किनकी, खुरुखुरु काम नगरेर फिल्म क्षेत्रमा इमान्दारिता खोज्ने निर्देशक ‘मुर्ख’ नभएर के हुन्छ ?

दिनेश ‘जिद्दी’ निर्देशक कसरी हुन्, त्यसको एउटा उदाहरण म यहाँ प्रस्तुत गर्न चाहन्छु । दिनेश फिल्म ‘नोभेम्बर रेन र क्लासिक’पछि नायक आर्यन सिग्देललाई लिएर एउटा फिल्म बनाउन चाहन्थे । सो फिल्ममा आर्यनले आफ्नो तौल घटाएर हड्डी र छाला मात्र राख्नुपर्ने थियो । तर, आर्यनले दिनेशलाई टेर पुच्छर लगाएनन् ।

दिनेश पनि साह्रै जिद्दी थिए । आर्यनले तौल घटाएनन् भनेर दिनेश आफैले ८ केजी तौल घटाइदिए । निर्देशकले नै तौल घटाउँदा नायकलाई प्रेरणा मिलोस् भनेर उनले तौल घटाएका थिए । यसअर्थमा उनी ‘जिद्दी’ निर्देशक हुन् । तर, दिनेशको ‘जिद्दीपन’ले काम गरेन । आर्यनले तौल घटाउन सकेनन् र फिल्म पनि बनेन । दिनेशले बरु आर्यनलाई छाडे तर आफ्नो सोच छाडेनन् ।

दिनेशलाई ‘नोभेम्बर रेन’बाट नजिकबाट नियाल्दै गर्दा मैले वुझेको के हो भने, उनी इमान्दार निर्देशक हुन् । जसले, आफूलाई कहिले पनि मिडियामा अगाडि ल्याएनन् । सकेसम्म मिडियाबाट भाग्न खोज्ने उनी काममा बढी विश्वास गर्छन् ।

दिनेश स्लो फिल्म बनाउँछन्, तर कथामा नयाँपन खोज्छन् । ‘नोभेम्बर रेन र क्लासिक’मा उनले प्रेममा नयाँ भाषा खोजेका थिए । ‘प्रसाद’मा समाजले देखेको तर नभनेको कथा खोजे । ‘प्रकाश’मा जुम्लाको एक यूवकको कथा भन्न खोज्दैछन् ।

तर, ‘प्रसाद’को सिरिजमा काम गर्दिनँ भनेर ब्रान्डलाई बेच्नु हुँदैन भन्ने सोच बोकेका दिनेशले ‘मेरो एउटा साथी छ २’ साइन गरेर आफ्नो बोलीलाई काट्न आटेका थिए । भलै, उनले पछि यो फिल्म छाडे ।

जेहोस्, ‘प्रसाद’पछि ‘प्रकाश’ले पनि दर्शकको माया पायो भने दिनेशले भन्न र देखाउन खोजेको फिल्मको चित्रले नयाँ आयाम कोर्नेछ । अनी, उनले फिल्म क्षेत्रको दौडमा आफ्नो छुट्टै लिक बनाउँछन् । कसैको नजरमा उनी ‘विद्रोही’, कसैको नजरमा उनी ‘जिद्दी’ निर्देशक होलान् तर मेरो नजरमा दिनेश ‘इमान्दार’ निर्देशक हुन् ।