‘चिसो कथा’लाई निर्देशकले भन्न नसक्दा चिसिएको व्यापार

सामाजिक संजाल ट्विटरमा फिल्म ‘चिसो मान्छे’ रिलिज अगाडि ४ वटा फिल्मको नाम धेरै दर्शकको सूचीमा थियो । ‘चिसो मान्छे, दोख, पानी फोटो र प्रकाश’ । यी चारै फिल्मले कुनै न कुनै रुपमा मानिसको संवेदना चिसिएको देखि चिसा मनका कथा भन्ने प्रयास गरेका छन् । जसमध्ये, ‘प्रकाश’को नाडी छाम्न दर्शकले बाँकी नै छ, अरुको छामिसके । आजबाट रिलिज भएको फिल्म ‘पानी फोटो’को इनिसियल व्यापार सुखद हुन सकेन ।

खगेन्द्र लामिछाने निर्देशित यो फिल्मले समीक्षकको तर्फबाट मिश्रित प्रतिक्रिया पाइरहँदा व्यापार भने शुक्रबार सुखद गरेन । शनिबारको व्यापार पनि अहिलेसम्मको बुकिङ हेर्दा फितलो नै छ । तर, खगेन्द्र भने फिल्मले सुखद व्यापार गर्नेमा आशावादी छन् ।

ट्विटरमा प्रतिक्षित भनिएका ४ फिल्ममध्ये ३ फिल्मको व्यापार चिसिएको नै देखियो । कोरोनाका कारण सरकारले लगाएको लकडाउनका कारण समाजमा देखिएको चिसो कथालाई उठान गरिएको ‘चिसो मान्छे’ प्रशंसित त भयो तर नेपालको व्यापार सुखद देखिएन । निर्देशकले चिसो समाज देखाउन खोज्दा ‘पुष्पा, आरआरआर, केजीएफ २’ जस्ता फिल्ममा पल्किएका दर्शकले ठूलो चासो देखाएनन् ।

अनुप बरालले ‘दोख’बाट माओवादी जनयुद्धको कथालाई एउटा पाटोबाट हेर्ने कोशिश गरे । समीक्षकले यो चिसो कथाको फिल्मलाई तातो रेटिङ दिदा दर्शकको नजरमा फिल्मको व्यापार चिसियो । फिल्मलाई समीक्षकको रेटिङले खासै फरक पारेन । दर्शक हलसम्म आएनन् ।

आजबाट रिलिज भएको फिल्म ‘पानी फोटो’ले जनयुद्धमा वेपत्ता बनाइएको छोराको खोजीमा लागेका बाबु–आमाको कथा भन्छ । चिसो मनमा केही आशाको न्यानो किरण झुल्कदै गर्दा फिल्म सकिन्छ । यसले, पनि जनयुद्धको एउटा चिसो कथा भन्न खोज्यो । तर, सुरुवाती दिनमा दर्शकको साथ अपेक्षित पाएन ।

अब, नायक प्रदीप खड्काले करिअरमा नै बदलाव ल्याएर काम गरेको ‘प्रकाश’ फिल्म रिलिजको क्रममा छ । भदौ १० गतेबाट रिलिज हुने यो फिल्मको व्यापार चिसो कथाको सफलता वा असफलताको रेखा कोेर्नेछ । लकडाउनपछि निर्देशकले केही फरक कथा भन्न खोजेपनि दर्शकले ‘कबड्डी ४, ए मेरो हजुर ४ र म यस्तो गीत गाउँछु २’ जस्ता फिल्ममा मन बनाए । अन्य फिल्मले व्यापार सुखद गरेनन् ।

यसले दर्शक फरक कथाको नाममा एउटै बिषय र एउटै जनराका फिल्महरुमा कत्तीको उत्साहित छन् या छैनन् भन्ने प्रश्न उब्जाएको छ ।