साउथका फिल्म रोकिएपछि बढ्यो २ नेपाली फिल्मको शो


भोलीबाट २ नेपाली फिल्म हलमा लाग्दैछन् । माघे सङ्क्रान्तिको अवसर पारेर रिलिज हुन लागेका २ नेपाली फिल्ममाथि फिल्मीकर्मी, दर्शक र मेकरको आशा टिकेको छ । 

प्रचारमा कुनै कसरी बाँकी नराखिएको रमेश एम के पौडेल निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ र अष्ट महर्जनको निर्देशनमा तयार भएको लभस्टोरी फिल्म ‘गुञ्जन’ भोलीबाट हलमा लाग्दैछन् । 

यी दुवै फिल्मलाई मल्टिप्लेक्समा आज बेलुकासम्म कम शोज  थियो । तर, साउथका २ फिल्म भोलि रिलिज हुने संभावना नदेखेपछि प्रदर्शकले मल्टिप्लेक्समा शोज बढाएका छन् । 

यदि, हलमा दर्शक आएको खण्डमा दुवै फिल्मलाई फाइदा हुने निश्चित छ ।  फिल्म ‘गुञ्जन’लाई क्यूएफएक्स चेनमा १९ शोज दिइएको छ । जबकी, बेलुकासम्म यो फिल्मलाई १० शोज मात्र दिइएको थियो । यस्तै, साम्राज्ञी आर एल शाह, पुष्प खड्का र सन्दीप क्षेत्री अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’लाई क्यूएफएक्सले १८ शोज दिएको छ । वान सिनेमाज्, बीग मुभिज लगायतका हलमा पनि दुवै नेपाली फिल्मको शोज बढेको छ । 

कविर खड्का, सारा सिर्पालीको, प्रितम राज सेञ्चुरी लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘गुञ्जन’को भक्तपुरको एक शोज भरिन लागेको देखिएको छ । 

अन्य हलमा भने दुवै फिल्मको बूकिङ निकै नै कमजोर छ ।