नीता र हरिहरले फिल्मको सबै रहस्य नखोलुन्


फिल्मलाई विशेष बनाउने हो भने, त्यसमा काम गर्ने कलाकार र उनीहरुको लुक्सलाई जती सकिन्छ गोप्य राख्ने कोशिश गर्नुपर्छ । फ्यानहरुले नै खिचेर सामाजिक संजालमा सार्वजनिक गर्ने त दोस्रो कुरा भयो । तर, कलाकारले नै दैनिक सामाजिक संजालमा फिल्मका तस्वीर र लुक्स सार्वजनिक गरे भने फिल्मप्रति दर्शकको मोह कम हुँदै जान्छ । 

भारतको हैदरावादमा रहेको रामोजी फिल्म स्टूडियोमा छायांकन भैरहेको फिल्म ‘ह्रस्व दीर्घ’को सेटबाट  दैनिक कुनै न कुनै तस्वीर सार्वजनिक भैरहेको छ । अझ, यस्तो कुरा सार्वजनिक गर्ने बिषयमा यसका निर्माता तथा नायिका नीता ढुंगाना नै अगाडि छिन् । फिल्ममा साउथ इन्डियन कलाकारहरुको पनि अभिनय छ । तर, उनीहरुको लुक्स समेत सार्वजनिक गर्न निर्माणपक्षलाई हतार भएको छ । 

नीताले फिल्ममा काम गरिरहेका साउथ इन्डियन कलाकारहरुसँग तस्वीर खिचेर दैनिक पोष्ट गरिरहेकी छिन् । 

यसका नायक हरिहर अधिकारीदेखि निर्देशक चन्द्र पन्त पनि यो कुरामा अगाडि नै छन् । यही तरिकाले अगाडि बढ्दै जाने हो भने नीता र हरिहरले फिल्मप्रति दर्शकलाई कुनै चासो बाँकी राख्छन् या राख्दैनन् होला भन्ने प्रश्न बाँकी छ ।