नाजिरलाई लिएर ‘टाशिदेलेक्’ बनाउँदै शम्भुजित बाँस्कोटा

फिल्म ‘चौका दाउ’पछि संगीतकार शम्भुजित बाँस्कोटा नयाँ फिल्म निर्माणको तयारीमा छन् । उनले निर्माण गरेको फिल्म ‘चौका दाउ’ युट्युबमा दर्शकको माया पाइरहेको छ । यही बिचमा उनी भने फिल्म ‘प्रेमगञ्ज’का निर्देशक परिच्छेद सेनलाई निर्देशनको जिम्मा दिएर नयाँ फिल्म बनाउँदैछन् । यो फिल्मको कथा पनि परिच्छेद र पुरुषोत्तम ढुंगेलले लेखेका हुन् । 

यो फिल्मको छायांकन हिमाली भेगमा गरिने वुझिएको छ । ३ करोडको हारहारीमा निर्माण हुने फिल्मलाई सगरमाथाको वेसक्याम्पमा खिच्ने तयारी गरिएको छ । श्रोतका अनुसार, यो फिल्मका लागि नायक नाजिर हुसेनसँग फाइनल कुरा भैसकेको छ । 

शेर्पा भाषामा ‘टाशिदेलेक्’को अर्थ नेपालीमा नमस्ते भन्ने हुन्छ । यो फिल्मको लोकेशन हेर्न केही दिनमै यसको निर्माण टिम हिमाली भेगमा जाने तयारीमा समेत छ । फिल्मका लागि अन्य कलाकार फाइनल भैसकेका छैनन् । 

निर्देशक परिच्छेद सेनको गतबर्ष रिलिज फिल्म ‘प्रेमगञ्ज’ले बक्स अफिसमा औषत व्यापार गरेपनि समीक्षकले यसलाई उत्कृष्ट भनेका थिए । यो फिल्म रिलिज भएपछि परिच्छेदसँग काम गर्न नेपालका चर्चित ब्यानरहरू पनि उत्साहित छन् । परिच्छेदले भने आफ्नै लेखनमा शम्भुजित बाँस्कोटासँग सहकार्य गर्ने पक्का भएको छ ।