गतबर्ष हल नपाएर उतारिएको ‘राधा’लाई यो बर्ष फेरि भिडाउने तयारीमा सुवर्ण


गतबर्षको भदौमा रिलिज भएर हल नपाएको भन्दै निर्देशक सुवर्ण थापा र उनको टिमले फिल्म ‘राधा’को रिलिज रोक्यो । प्रिमियरमा राम्रो तारिफ कमाएको यो फिल्मलाई प्रदर्शकहरुले अन्याय गरेको भन्दै सुवर्णले फिल्मलाई हलमा नलगाउने निर्णय गरे ।

नायक सौगात मल्लको समेत लगानी रहेको यो फिल्मलाई हलबाट उतारेर विदेशमा रिलिज गरियो । यो फिल्म गतबर्ष ‘प्रकाश’ फिल्मसँगै रिलिज भएको थियो । 

गतबर्ष बक्स अफिसमा असफल भएको यो फिल्मलाई यो बर्ष फेरि रिलिज गर्ने तयारीमा यसका निर्देशक सुवर्ण थापा लागेका छन् । तीजको अवसर पारेर भदौको २९ गतेबाट फिल्म नेपालका हलमा पुनः रिलिज हुने सुवर्णको भनाई छ । 

यो फिल्ममा नायिका श्रृष्टी श्रेष्ठ शिर्ष भूमिकामा छिन् । उनको अभिनयले भने उच्च प्रशंसा पाएको थियो । फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने लगायतका कलाकारको पनि मुख्य भूमिका छ । 

गतबर्ष हल नपाएको भन्दै उतारिएको ‘राधा’लाई यो बर्ष किन ३ वटा फिल्म रिलिज हुने मितिमा ल्याउने तयारी सुवर्णले गरेका होलान् ? यो मितिमा पहिले नै ‘नांगो गाउँ र भगवत् गीता’ आउने पक्का भैसकेको छ । फिल्म ‘अ‍ैँचो पैँचो’लाई पनि यही मितिमा ल्याउने तयारी गरिएको छ ।