बर्दियाबाट ‘ह्यासट्याग माया’ को छायांकन सुरु

लुम्बिनी प्रदेशको बर्दियाबाट फिल्म ‘ह्यासट्याग माया’ (#माया) को छायांकन सुरु भएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को शुक्रबारबाट बर्दियामा छायांकन सुरु भएको हो । थ्रिलर विधामा निर्माण हुने फिल्मको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै बर्दियाकै आसपासमा छायांकन सेड्युल चौध दिनको तय गरिएको कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिएका छन् ।

‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोशिस हाम्रो रहनेछ । यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ’, अनुपले भने । यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिए ।

‘हामीले तय गरेको सेड्युल अनुसार नै काम भइरहेको छ । थ्रिलरमा मनोरञ्जक फिल्म तयार हुनेछ । हामी प्रस्तुतीसँगै अन्य विषयमा ध्यान दिईरहेका छौँ’, निर्देशक गुरुङले भने । फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ । यसको छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको फिल्मको कथा मायामै केन्द्रीत छ । यसमा शिर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिकै मेहनत गर्नेको संख्या निकै कम छ ।

‘चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ । पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयाश हरेक फिल्ममा रहन्छ । यो फिल्मलाई लिएर निकै उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री नम्रताले भनिन् ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।