‘ह्रस्व दीर्घ’को बजेट ९ करोड पुग्छः नीता ढुंगाना

नायिका नीता ढुंगानाले फिल्म ‘ह्रस्व दीर्घ’को बजेट ९ करोड पुग्ने बताएकी छिन् । नीताले आफूद्धारा निर्देशित नयाँ म्युजिक भिडियो ‘प्रतिक्षा’को बिषयमा मेरो फिल्मसँग कुराकानी गर्ने क्रममा फिल्मको बजेटको बिषयमा पनि बोलेकी हुन् । 

नीताले भनिन्–‘हामीले पहिले यति ठूलो क्यानभासमा फिल्म बन्ला भनेर सोचेका थिएनौं । तर, फिल्मको प्रि प्रोडक्शनको काम गर्दै जाँदा बजेट पनि बढ्यो, क्यानभास पनि ठूलो हुन पुग्यो । अहिलेसम्म ३ करोड बढी बजेट सकिएको छ । अझै फिल्मको छायांकन हुन ६० प्रतिशत बाँकी छ । फिल्मको मेकिङ र प्रचारमा करिब ९ करोड खर्च हुने अनुमान गरेका छौं ।’

यति ठूलो बजेट नेपालबाट उठ्न संभव नभएको कुरामा नीता र फिल्मका नायक तथा निर्माता हरिहर अधिकारी पनि जानकार छन् । लगानी कसरी सुरक्षित गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘हामीले नेपालबाट मात्र यति ठूलो लगानी सुरक्षित हुन्छ भनेर आँटेका होइनौं । दक्षिण भारतका विभिन्न ५ वटा भाषामा फिल्म तयार हुँदैछ । यसैले पनि हामीले दक्षिण भारतीय कलाकारलाई फिल्ममा लिएका हौं । भारतमा ओटीटी प्लेटफर्म पनि कमाइको मुख्य आधार बनेको छ । यसैले, लगानी सुरक्षित हुनेमा ढुक्क छौं ।’

उनका अनुसार, अहिलेसम्म खर्च भएको सबै लगानी उनीहरुले नै ब्यहोरिरहेका छन् । तर, ९ करोड नै नीता र हरिहरले खर्च गर्न संभव छैन । यसका लागि भारतका विभिन्न प्रोडक्शन कम्पनीहरुसँग कुरा भैरहेको र उनीहरु फिल्ममा लगानी गर्न तयार भएको नीताले बताइन् । 

नीताका अनुसार, फिल्म रोकिनुको कारण बजेट होइन । उनले फिल्मका लागि भारतको मौसम अहिले प्रतिकुल रहेको बताइन् । साथै, सबै कलाकारको सेड्यूल मिलाउन पनि गाह्रो भएको उनले बताएकी छिन् ।