‘इन्डियन आइडल’को मञ्चमा रणवीर कपुरले छोए मेनुकाको पाउ

फिल्म ‘एनिमल’को प्रमोसनका क्रममा ‘इण्डियन आइडल १४’को सेटमा पुगेका बलिउड नायक रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको पाउ छोएका छन् । 

मेनुकाले रणवीरको अगाडि ‘अगर तुम साथ हो’ बोलको गीत गाएकी थिइन् । मेनुकाको स्वर सुनेर निकै नै भावुक भएका रणवीर स्टेजमा पुगेका थिए ।

स्टेजमा पुगेर उनले भने–‘मेनुकाजी मेरो नाम रणवीर कपुर हो । म तपाइसँग आर्शीवाद लिन चाहन्छु । जब श्रेयाजीले कुनै मञ्चमा पहिलो पटक गीत गाएकी थिइन् । सो बेलामा उनलाई ‘देवी’ भनिन्थ्यो । अहिले हाम्रो सामु देवी नम्बर २ अगाडि उभिएकी छिन् ।’

रणवीरले पाउ छुँदै गर्दा मेनुकाले ‘धन्यवाद सर’ भन्दै आभार व्यक्त गरेकी थिइन् । 

नेपाली चेली मेनुका पौडेलले अहिले भारतको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।