म शक्तिशाली छैनँ, तर शक्तिशाली मानिसहरुबाट सिकिरहेको छुः मिरुना मगर

केही दिन अगाडि एक अनलाइनले नायिका मिरुना मगरलाई नेपालकै शक्तिशाली ५० महिलाहरूको सूचीमा राख्यो । नेपाली फिल्म क्षेत्रमा केही बर्षदेखि सक्रिय मिरुनाले हिट फिल्महरू दिइरहेकी छिन् । ‘कबड्डी ४ देखि जारी हुँदै नांगो गाउँ’सम्म आइपुग्दा उनले ब्लकबस्टर फिल्मको अनुभव लिइसकेकी छिन् । 

के मिरुनालाई आफू शक्तिशाली महिला हुँ जस्तो लाग्छ त ? मेरो फिल्मको यो प्रश्नमा उनले भनिन्–‘म आफूलाई पावरफुल भन्दा पनि एकदमै सिकिरहेको मान्छेको रुपमा लिन्छु । मलाई जो कोहीबाट पनि सिक्न मनपर्छ । यो क्षेत्रले मलाई आजको दिनमा जसरी स्विकार गरेको छ, मैले आफ्नो अनुभव र सिकाइलाई नै पावरको रुपमा लिएकी छु ।’

मिरुनाले आफू युकेमा हुर्किएकाले नेपालको धेरै कुरा सिक्न नपाएको बताइन् । उनले भनिन्–‘मलाई आफ्नो जीवन भोगाइको धेरै कुरामा अभाव महशुश हुन्छ । जब, म नेपाल आएर ती कुराहरू सिक्न पाएँ, यहाँका मानिसहरूको जीवन भोगाई देखेर लोभ लाग्न थाल्यो । मैले पावरफुल मानिसहरूको बीचमा रहेर धेरै कुरा सिकिरहेको छु । दयाहाङ राई, उपेन्द्र सुब्बा, प्रवीण खतिवडादेखि थुप्रै कलाकारहरूले यो क्षेत्रमा लामो समय बिताउनु भएको छ । उहाँहरूबाट धेरै कुरा सिक्न पाएकी छु । मलाई जहिले पनि कसरी सिकौँ, कसरी मैले पनि अझै धेरै कुरा जान्न सक्छु भन्ने लाग्छ ।’

मिरुनाले कुनै पनि व्यक्तिको बायोग्राफी पढ्दा २ दिनमै उसको जीवन भोगाई वुझिन्छ त्यसरी नै आफूले पनि यो क्षेत्रमा आएपछि थुप्रै मानिसहरूबाट यहाँको भोगाई सिकेको तर्क गरिन् । यसैले, यस्तै कुराहरू सिक्न पाउँदा आफूमा पावर भरिएको महशुश हुने मिरुनाको तर्क छ । 

मिरुना अभिनित फिल्म ‘मनसरा’ वैशाखको २१ गतेबाट रिलिजमा आउँदैछ । यही फिल्मको विषयमा कुरा गर्ने क्रममा मिरुनाले आफ्नो शक्तिको बिषयमा धारणा राखेकी हुन् ।