दाङको कन्सर्टमा समीक्षा पुग्दा २३ जना मात्र दर्शक, रद्द भयो कार्यक्रम

गायिका समीक्षा अधिकारीलाई हेर्न २३ जना मात्र दर्शक उपस्थित भएपछि दाङमा आयोजित एक कार्यक्रम रद्द भएको छ । चैत्रको १० गते प्राकृतिक कला केन्द्र तुलसीपुरले आयोजना गरेको कार्यक्रममा २३ जना मात्र दर्शक उपस्थित भएपछि समीक्षा स्टेज नै चढिनन् ।

समीक्षा कन्सर्टका लागि तुलसीपुरको मेट्रो होटलमा बसेकी थिइन् । तर, दर्शकको भीडमा आफ्नो प्रस्तुति दिने सोचका साथ समीक्षाले पर्खिइन् । दर्शक नै नभएपछि आयोजकले समीक्षालाई स्टेजमा नै चढाएन । 

कार्यक्रमको राम्रै प्रचार गरेपनि दर्शक नभएपछि आयोजक पनि छक्क परेको थियो । चलचित्र पत्रकार संघ, दाङका अध्यक्ष सन्तोष केसीका अनुसार उक्त कार्यक्रममा दर्शकको अभाव हुनुको विभिन्न कारण छन् । 

अध्यक्ष केसीले मेरो फिल्मसँग भने–‘एउटा त दाङ पल शाहको गृहजिल्ला भएर पनि होला । अर्कोतिर, उक्त मैदान कन्सर्ट गर्नका लागि उपयुक्त पनि होइन । फेरि, अहिलेको समयमा कन्सर्ट गर्दा देशकै नाम चलेको स्टार आउँदा पनि दर्शकको अभाव हुन्छ ।’

केसीका अनुसार, तुलसीपुरमा भर्खरै मात्र महोत्सव सकिएकाले दर्शकमा त्यति रुची नभएको हुनसक्छ ।