जेठ ११ मा इगोको लडाईः ‘पुजार सार्की’ पनि रिलिज गर्ने तयारी

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’लाई जेठको ११ गते रिलिज गर्ने तयारी गरिएको छ । 

केही दिन अगाडि मात्र छायांकन सकिएको यो फिल्मको हाल पोस्ट प्रोडक्शन चलिरहेको छ । फिल्मको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी गरिएको छ । फिल्मको रिलिज जेठ ११ गते तोक्ने तयारीसँगै यसको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ । 

फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । निर्देशक दिनेश राउतले आफू निकट फिल्मीकर्मीहरुसँग आफ्नो तरिकाले फिल्म रिलिज गर्न लागेको र कसैसँग जुध्न नआएको बताइरहेका छन् । 

‘पुजार सार्की’लाई जेठको ११ गते शुक्रबार रिलिज गर्ने तयारी गरिरहँदा जेठको १० गते २ फिल्म पनि रिलिज हुने पक्का भइसकेको छ । ‘फर्की फर्की र दान्भी’ रिलिज गर्ने घोषणा यसका मेकरले यसअघि नै गरिसकेका छन् । 

यसरी, एकसाथ तीन फिल्म जुध्दा त्यसले पार्ने प्रभाव नेपाली मेकरले बारम्बार देखिरहेका छन् । फागुनको २५ गते तीन नेपाली फिल्म जुध्दा परेको असरबारे पनि नेपाली मेकर जानकार छन् । 

तर, आउँदो बर्षको जेठ ११ गते इगोको लडाई देखिएको छ । ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र ‘पुजार सार्की’का निर्देशक दिनेश राउतको इगोको लडाइले दुई ठूला र प्रतीक्षित फिल्म एउटै मितिमा रिलिज गर्ने तयारी गरिएको हो । 

अर्कोतिर, नायिका पूजा शर्मा र नायक अनमोल केसीको इगोको लडाइमा फिल्म ‘दान्भी र फर्की फर्की’ जुध्ने पक्का भइसकेको छ । अर्कोतिर, फिल्म एकसाथ जुध्नुमा वितरकको समेत लडाई देखिन्छ । ‘फर्की फर्की’लाई गोविन्द शाही, ‘दान्भी’लाई करण श्रेष्ठ र ‘पुजार सार्की’लाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

यसरी, एक अर्कासँगको इगोको लडाइमा जेठ ११ मा तीन फिल्म रिलिज हुँदैछन् । यसले, नेपाली फिल्मलाई फाइदा नपुग्ने निश्चित छ । तर, वितरक, निर्माता र कलाकारहरूको इगोका कारण बारम्बार यस्तो परिस्थिति सिर्जना भइरहेका छन् ।