१० करोड कटाउनै मुश्किल

फिल्म ‘जारी’ले १७ करोड ग्रस कलेक्शन गरेपछि धेरैलाई लाग्यो, ओहो फिल्म बनाएर त सजिलै यति ठूलो आँकडा बनाउन सकिने रहेछ । व्यवसायीक रुपमा फिल्म सफल भयो भने त १७ करोड कमाउन पनि खासै गाह्रो रहेनछ । 

तर, बाहिरबाट हेर्दा जति सहज यो आँकडा देखिन्छ, फिल्म बनाएर १७ त परको कुरा १० करोड कटाउन पनि नेपाली फिल्मलाई धौ–धौ परेको देखिन्छ । 
१० करोड कटाएका नेपाली फिल्मको संख्या पनि खासै धेरै छैन । अधिकांश चलेका फिल्महरूले पनि यही आँकडा कटाउन संघर्ष गरिरहेको देखिन्छ । 
यो बर्ष हिट भएका फिल्महरूलाई पनि १० करोडको आँकडा पार गर्न गाह्रो भयो । यो बर्षको दोस्रो हिट ‘नांगो गाउँ’ होस् या सर्वाधिक आशा गरिएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’लाई पनि १० करोड फलामको चिउरा चपाए जस्तै भयो । 

तिहारमा रिलिज भएर दर्शकको साथ पाएको फिल्म ‘दिमाग खराब’ले पनि दर्शकको राम्रो साथ पाउँदा १० करोडको आँकडा छुन सकेन । 

अब, फिल्म ‘महाजात्रा’ यही यात्रामा दौडिएको छ । फिल्मले ५ करोड ग्रस कलेक्शन गरिसकेको छ । अब, बाँकी दिनमा यसले गर्ने व्यापारले यसको लाइफ टाइम आँकडा बताउन सकिनेछ । तर, यो फिल्मलाई १० करोडको आँकडा छुन सहज भने छैन । 

नेपालमा १० करोडको आँकडा पार गरेका फिल्महरूको संख्या धेरै छैन । ‘कबड्डी ४, छक्का पन्जा ३, छक्का पन्जा २, छक्का पन्जा, छ माया छपक्कै, शत्रु गते’ लगायतका फिल्मले १० करोड माथि कमाएका छन् । यसैले, १० करोडको आँकडा पार गर्न अधिकांश नाम चलेका मेकर, निर्देशक र कलाकारका फिल्मलाई पनि मुश्किल परेको छ ।