नयाँ अनुहारलाई दर्शकले पत्याएनन्

यो बर्ष नेपाली फिल्म क्षेत्रमा केही नयाँ अनुहारहरूले पाइला राखे । फिल्म क्षेत्रमा राम्रो आशा बोकेर उनीहरुले पाइला राखेपनि दर्शकले भने नपत्याएको देखियो । जसकाकारण, उनीहरुको करिअर अब के हुन्छ भन्न सकिने अवस्था छैन । 

उसो त, हरेक बर्ष नयाँ–नयाँ कलाकारहरू फिल्म क्षेत्रमा करिअर बनाउने ठूलो सपना राखेर आउने गर्दछन् । तर, निकै कमले मात्र यो क्षेत्रमा भाग्य चम्काएका छन् । यो बर्ष त धेरै नयाँ अनुहारमाथि दर्शकको आँखा नै परेन । यसैले, अधिकांश कलाकारहरू एउटै फिल्म खेलेर हराउने अवस्थामा पुगे ।  

यो बर्ष रिलिजमा आएको फिल्म ‘नाई नभन्नु ल ६’बाट आर्शीवाद क्षेत्रीले डेब्यू गरेका थिए । यो फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लियो । जसकाकारण, आर्शिवादमाथि लगानी गर्न मेकरहरु डराइरहेको देखिन्छ । आर्शिवादले नयाँ फिल्म साइन गरेका छैनन् । उनीमा संभावना त धेरैले देखेका छन्, तर पहिलो फिल्म नचल्दा अधिकांशमा उनीमाथि लगानी गर्दा के हुने हो भन्ने भय छ ।  

फिल्म ‘टुल्की’बाट स्वस्तिमा कार्कीले यो बर्ष पाइला राखिन् । तर, यो फिल्ममाथि पनि दर्शकको मन गएन । जसकाकारण, स्वस्तिमाको करिअर पनि फिल्म क्षेत्रमा चम्किन सकेन । आगामी दिनमा उनको फिल्मी यात्रा कसरी अगाडि बढ्छ, हेर्न बाँकी छ । तर, अहिलेको अवस्थामा भने स्वस्तिमामाथि फिल्मीकर्मीको पनि आँखा परेको छैन । 

जेठको १२ गते फिल्म ‘हुक्का’ पनि रिलिज भएको थियो । यो फिल्ममा नयाँ कलाकारको रुपमा अंशु न्यौपानेले काम गरिन् । तर, बक्स अफिसमा यो फिल्म नचल्दा अंशुलाई पनि करिअर बनाउन गाह्रो भइरहेको छ । 

फिल्म ‘दुई कदम’बाट यो बर्ष इओन लिम्बु र सिमोन गिरीले फिल्म क्षेत्रमा पाइला राखेका थिए । तर, यो फिल्म आएको र गएको पत्तो भएन । दर्शकले फिल्म हेर्ने मन नै बनाएनन् । जसकाकारण, इओन र सिमोनको काम न त दर्शकको नजरमा पर्यो, न त फिल्मीकर्मीले नै उनीहरुको कामको बारेमा चर्चा गरे । आगामी दिनमा यी दुई कलाकारलाई फिल्म क्षेत्रमा स्थापित हुन सहज देखिएको छैन । 

फिल्म ‘चित्रा’ पनि यही बर्ष रिलिज भयो । अन्य फिल्ममा लगानी गरेका सन्तोष अधिकारी यही फिल्मबाट नायकको रुपमा फिल्म क्षेत्रमा भित्रिए । तर, सन्तोषको कामले पनि दर्शकको साथ पाएन । यसैले, आगामी दिनमा सन्तोषलाई फिल्म क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्ने हुन्छ । 

फिल्म ‘पर्खि बसेँ तिमीलाई’ बाट नायक किरण श्रेष्ठ र नायिका रक्षा वुढाथोकीले फिल्म क्षेत्रमा पाइला राखे । यो फिल्मले पनि व्यापारिक रुपमा सफलता पाउन सकेन । किरणको कामले राम्रै तारिफ पाएकाले आगामी दिनमा उनले अन्य फिल्ममा पनि काम गर्ने संभावना छ । तर, रक्षाको कामले दर्शकको राम्रो प्रतिक्रिया पाएन । यसकारण, रक्षालाई पनि फिल्म क्षेत्रमा स्थापित हुन अझै संघर्ष गर्नुपर्ने देखिन्छ । यो फिल्ममा अनिशा रसाइलीले पनि पहिलो पटक काम गरिन् । फिल्म नचलेपछि अनिशा पनि दर्शकको नजरमा पर्न सकिनन् । 

फिल्म ‘गोर्खा वारियर’बाट नयाँ अनुहारको रुपमा रितेश चाम्सले काम गरे । यो फिल्मको मुख्य नायकको रुपमा देखिएका रितेशको कामको राम्रै चर्चा पनि भयो । अब, उनलाई आगामी दिनमा मेकरले कसरी हेर्ने हुन्, त्यो भविष्यले नै बताउनेछ । तर, फिल्म व्यापारिक रुपमा सफल नहुँदा रितेशलाई खासै फाइदा भएन । 

फिल्म ‘उपहार’बाट नयाँ–नायकको रुपमा समर्पणजंग कार्कीको प्रवेश भयो । यो फिल्मले औषत कारोबार गर्दा समर्पणको कामको खासै चर्चा भएन । उनको अभिनय, नृत्यमा पनि कमजोरी देखियो । पेसाले पाइलट रहेका समर्पणले फिल्म क्षेत्रमा उडान भर्नका लागि अझै मिहिनेत गर्नुपर्ने फिल्मीकर्मीको प्रतिक्रिया थियो । 

यो बर्ष करिब एक दर्जन नयाँ अनुहारहरूले नेपाली फिल्ममा पाइला राखेका छन् । तर, अधिकांशको डेब्यू फिल्म असफल हुन पुग्यो । यसमध्ये एकाधलाई छाड्ने हो भने अधिकांशको कामले समेत तारिफ पाउन सकेन । यसैले, आउँदो बर्ष यी कलाकारहरूबाट नेपाली फिल्म क्षेत्रले कुनै फाइदा लिन सक्ने देखिएको छैन ।