दोस्रो सातामा ‘महाजात्रा’, पहिलो सातामा ६ करोड माथिको कमाई

आजबाट फिल्म ‘महाजात्रा’ दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता सुखद कमाई गर्दै दोस्रो साताको यात्रा तय गरेको हो । 

यो फिल्मले रिलिजको पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८३ लाख र तेस्रो दिन १ करोड २० लाखको ग्रस कलेक्शन गरेको थियो । ३ दिनमा फिल्मको ग्रस कलेक्शन ४ करोड २६ लाख पुगेको थियो । यसपछिका बाँकी दिनमा यो फिल्मले १ करोड ९८ लाखको ग्रस कलेक्शन गरेको थियो । फिल्मले एक सातामा ६ करोड २४ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा भनिएको छ । 

यो फिल्मले विश्व बजार, डिजिटल मार्केटबाट पहिले नै लगानी उठाइसकेको थियो । यसैले, नेपालबाट फिल्मले कमाएको सबै शेयर निर्माताको गोजीमा जाने वुझिएको छ । 

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म सुपरहिट भइसकेको छ । अब, फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्छ या गर्दैन, त्यसका लागि भने केही साता पर्खिनुपर्ने हुन्छ । 

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । ‘महाजात्रा’ यो बर्षको छैटौँ हिट फिल्म समेत बनेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।