‘अगस्त्य’ निर्माताको दाबीः २ करोडको फिल्मले साढे ४ करोड कमायो

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले साढे ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । 

निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा फिल्मले नेपाली बक्स अफिसबाट २ करोड ६१ लाख ग्रस कलेक्शन गरेको छ । यस्तै, ओभरसिजबाट १ करोड ९७ लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले विश्व बजारबाट ४ करोड ५८ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माताको छ । 

यो फिल्मलाई २ करोड बजेटमा तयार पारिएको समेत निर्माणपक्षले उल्लेख गरेको छ । फिल्मका निर्माताले विश्व बजारबाट आफूहरूले लगानी सुरक्षित गरेको दाबी समेत गरेका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय छ । 

फिल्म ‘अगस्त्य’को च्याप्टर २ लाई सन् २०२६ मा रिलिज गर्ने जानकारी पनि निर्माणपक्षले दिएको छ । यो फिल्मले समीक्षकबाट मिश्रित र दर्शकबाट सुखद प्रतिक्रिया पाएको थियो ।