२०८० लाई फर्केर हेर्दाः अपेक्षित फिल्म जब बक्स अफिसमा चलेनन्...

नेपाली फिल्मका लागि बर्ष २०८० औषत रहेको मान्नुपर्छ । व्यापारिक रुपमा सफल हुन्छन् भनेर आँकलन गरिएका केही फिल्मले यो बर्ष दर्शकको मन जित्न सकेनन् । हिट सिरिजका ३ र नयाँ नामका ३ फिल्म गरेर जम्मा ६ वटा फिल्म यो बर्ष चलेका छन् । रिलिजको संख्या भने यो बर्ष ५३ पुग्नेछ । 
नयाँ बर्षको पहिलो दिनबाट चैत्रको अन्तिम सातासम्म आइपुग्दा यो बर्ष नाम चलेका स्टारदेखि नाम चलेका ब्यानरका फिल्मले पनि पानी भन्न पाएनन् । बक्स अफिसमा यी फिल्मले गरेको व्यापार दयनीय नै छ । 

पाँचौ सिरिजसम्म निर्माताको गोजीमा राम्रो रकम भरिदिएको फिल्म ‘नाई नभन्नु ल’को छैटौँ सिरिजले यो बर्ष निकै कमजोर व्यापार गर्यो । यो फिल्म क्षेत्रका लागि पनि अपेक्षित थिएन । विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा आँचल शर्मा र आर्शीवाद क्षेत्रीको मुख्य भूमिका थियो । यो फिल्मलाई दर्शकले नरुचाएपछि यसको सिरिजमै प्रश्न उठेको छ । 

फिल्म ‘प्रसाद २’को रिलिज मिति पनि विभिन्न कारणले धकेलिँदै यो बर्षको वैशाखमा आइपुग्यो । निर्माणपक्षले ‘प्रसाद’ भन्दा बेजोड रहेको भनेर प्रचार गरेपनि दर्शकले यो फिल्मलाई साथ दिएनन् । सुदर्शन थापा निर्देशित फिल्मको व्यापार कमजोर रहन पुग्यो । यो पनि फिल्म क्षेत्रका लागि अपेक्षित थिएन । 

पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक रेनशा वान्तवा राइको नयाँ फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ हेर्न पनि दर्शकले मन बनाएनन् । कोभिडका कारण प्रदर्शन मिति धकेलिँदै बैशाखमै आइपुगेको थियो ।

निर्माणपक्षले प्रचारमा पनि कुनै कसर बाँकी राखेको थिएन । धिरज मगर र जसिता गुरुङ जस्ता स्टारहरूका कारण पनि फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने अपेक्षा थियो । नेपालकै पहिलो डान्सिङ फिल्म भनेर प्रचार गरिएतापनि यो फिल्मलाई दर्शकले पत्याएनन् । 

यो बर्ष झरना थापाले पनि निर्देशकीय पाटोमा पहिलो पटक असफलता भोगिन् । फिल्म ‘एक भगवत् र एक गीता’को व्यापारले सफल ब्यानरलाई झट्का थियो । धिरज मगर, सुहाना थापा र विपिन कार्की जस्ता कलाकारलाई पनि दर्शकले पत्याएनन् । यसपटक, लभ स्टोरीसँगै केही फरक कथा भन्ने झरनाको कोशिश फेल खायो । 

दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल जस्ता कलाकारले अभिनय गरेको फिल्म ‘हात्तीछाप’ले पनि दर्शकको साथ पाएन । ‘२ नम्बरी’ जस्तो हिट फिल्म दिएका यी तीन कलाकार यसपटक ‘हात्तीछाप’मा नराम्रोसँग चिप्लिए । यो फिल्म पनि बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको थियो । 

यो बर्ष फिल्म ‘अगस्त्यः च्याप्टर १’को व्यापार पनि अपेक्षित थिएन । फिल्म रिलिज अगाडि यसको प्रचार, हाइप उच्च थियो । सौगात मल्ल, नाजिर हुसेन र मलिका महत अभिनित यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई नै नयाँ बाटोमा लैजाने अपेक्षा गरिएको थियो । तर, सौरभ चौधरीको निर्देशनमा बनेको यो फिल्मले नेपालबाट ३ करोड ग्रस कलेक्शन पनि गर्न सकेन । 

यस्तै, फिल्म ‘उपहार, रंगेली’को असफलताले पनि फिल्मीकर्मीलाई धेरै पाठ सिकाएको छ । आशा गरिएका ८ वटा फिल्मको व्यापार कमजोर हुँदा यो बर्ष सफल फिल्मको संख्या आधा दर्जन मात्र पुग्यो । यी फिल्महरूले निर्मातालाई राहत दिएको भए फिल्म क्षेत्रले पनि सुखद बर्ष पाउने थियो ।