यस्तो बन्यो प्रदीप र बेनिशाको ‘एक्लो १’को थिम पोस्टर

प्रदीप शाहीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘एक्लो १’को थिम पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको निर्माण टिमले सोमबार नाम र थिम पोस्टर सार्वजनिक गरेको हो । यो फिल्मलाई सिक्वेलको रुपमा निर्माण गर्ने तयारी समेत गरिएको छ ।

साईफाई–जोम्बी थ्रिलर फिल्मलाई ३ भागमा तयार पारिनेछ । सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेश सुटमा प्रस्तुत गरिएको छ । स्पेश सुटमा नेपालको झण्डालाई समेत प्रयोग गरिएको छ । 

यो फिल्ममा नायक प्रदीप खड्का, नायिका बेनिशा हमालको साथमा विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, सुनिल थापा मुख्य भूमिकामा देखिदैछन् ।

शाइ प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । क्षितिज सुवेदी कार्यकारी निर्माता रहेको यो फिल्मको छायांकन साउनबाट सुरु हुनेछ । यो फिल्मको छायांकनका लागि अन्तरिक्षमा जाने रकेटको निर्माणको तयारी भइरहेको छ । 

फिल्मको थिम पोस्टरले पनि यसपटक प्रदीप शाहीले केही नयाँ कथा खोजेको बुझ्न सकिन्छ । फिल्मले नेपाल र अन्तरिक्षविचको कनेक्शन देखाउने अड्कल गर्न सकिन्छ ।