‘ज्वाइँ साब’मा जीतुको जोडी नीति शाह

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । 

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाई छ । यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्ने छिन् । जितु फिल्मको शीर्ष भूमिकामा अनुबन्धित भइसकेका छन् । 

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् । 

फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

वैशाखको १५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको तिहारलाई फाइनल गरिएको छ । 

नायिका नीति शाहले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो ।