हिन्दी फिल्म नेपाल ल्याउनै सकस, नयाँ बर्षमा नेपाली मात्र रिलिज गर्दा के हुन्छ ?

बिहिबारबाट दुई हिन्दी फिल्म ‘बडे मियाँ छोटे मियाँ र मैदान’ रिलिज हुँदैछन् । तर, अहिलेसम्म यी दुई फिल्म नेपाल भित्रिन सकेका छैनन् । 

यी दुबै फिल्म नेपाल भित्र्याउनका लागि वितरक लागिपरिरहेका छन् । तर, महँगो रकम भनेपछि नेपाल भित्र्याउँदा जोखिम हुने डर वितरकलाई छ । भारतमा पनि यी दुबै फिल्मको बूकिङ गतिलो छैन । 

अक्षय कुमार र टाइगर श्राफ जस्ता कलाकार भएपनि ‘बडे मियाँ छोटे मियाँ’को क्रेज खासै बन्न सकेको छैन । भारत र पाकिस्तानकै कथा भएका कारण नेपाली दर्शकका लागि पनि यो फिल्म रुचीकर नहुने विश्लेषण गर्न सकिन्छ ।

अर्कोतिर, नयाँ बर्षमा दुई नेपाली फिल्म ‘डिग्री माइला र द रेड सुटकेस’ रिलिज हुँदैछन् । यी दुबै फिल्मको क्रेज नेपालमा राम्रो छ । यी दुई नेपालीसँग चौथो हप्तामा प्रवेश गर्न लागेको ‘महाजात्रा’को बम्पर व्यापारको सिलसिला रोकिएको छैन । 

यसैले, नेपाली वितरकले महँगो रकममा हिन्दी फिल्म रिलिज गर्न जोखिम मानिरहेका हुन् । उसो त, कुनै पनि फिल्मका लागि चलचित्र विकास बोर्डले सेन्सर सर्टिफिकेट दिनका लागि ४ दिन पहिले नै आवश्यक कागजपत्र बुझाइसकेको हुनुपर्छ ।

यसैले, आजसम्म नेपालमा रिलिज हुने वा नहुने यी दुबै हिन्दी फिल्मलाई अब वितरकले नेपाल भित्र्याएर प्रक्रियामा गएको खण्डमा पनि शनिबार वा आइतबार अगाडि रिलिज हुने संभावना छैन । 

यदि, बोर्डले फास्ट ट्रयाकको बाटो खोज्यो भने आफैले बनाएको नियम आफै उल्लंघन गरेको ठहरिनेछ । 

यसपटक, नयाँ बर्षमा अपेक्षित नेपाली फिल्महरू रिलिज हुँदैछन् । यसैले, यसपटक वितरकले विदेशी फिल्म ल्याएर जोखिम मोल्छन् या अपेक्षा गरिएका नेपाली फिल्मलाई उच्च शोका साथ रिलिजको अवसर दिन्छन् हेर्न बाँकी छ ।