नेपाली फिल्मको नाम के राख्ने ? बोर्डले थाल्यो छलफल

चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रको नाम के राख्ने भन्ने विषयमा छलफल थालेको छ । आज चलचित्र क्षेत्रसँग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र फिल्मीकर्मीलाई बोलाएर नाम के राख्ने भन्ने विषयमा छलफल गरिएको हो । 

यस्तै, बोर्डले नेपाली फिल्मको स्थापना दिवस कहिले मान्ने भन्ने विषयमा पनि छलफल थालेको हो । छलफलमा चलचित्रकर्मीहरुबाट विभिन्न खालका सुझाव आएको र उपयुक्त सुझावलाई लागू गर्ने तयारीमा बोर्ड रहेको सदस्य रवि अधिकारीले जानकारी दिएका छन् । 

चलचित्र विकास बोर्डले केही बर्ष अगाडिबाट फिल्म क्षेत्रको स्थापना दिवस असोज १ गतेलाई मान्दै आएको छ । तर, यो दिवस पनि बोर्डले गतिलोसँग आयोजना गर्न सकेको छैन । 

यस्तै, नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भनिने गरिन्छ । तर, यो नाम पनि फिल्म क्षेत्रको आफ्नै होइन । ‘कलिउड’ त दक्षिण भारतीय फिल्मलाई भन्ने गरिन्छ । 

यसैले, विकास बोर्डले यो विवादलाई सुल्झाउने तयारी थालेको हो ।