अन्तराष्ट्रिय फिल्म महोत्सवमा नेपाली वृतचित्रलाई अवार्ड

नेपाली वृत्तचित्रले अष्ट्रेलियाको एक अन्तराष्ट्रिय फिल्म महोत्सवमा अवार्ड जितेको छ । फिल्मकर्मी शान्ता नेपालीले बनाएको छोटो वृत्तचित्र ‘नथिङ ईज ईम्पोसिवल’ ले अन्तराष्ट्रिय विधा अन्तरगर्त अवार्ड पाएको हो । सिड्नीमा नोभा ईम्प्लोईमेन्टले आयोजना गरेको ‘फोकस अन एबिलिटी’ नामक फिल्म महोत्सवमा उक्त विधामा अन्य ५ वटा वृत्तचित्र छनोटमा परेका थिए । छनोटमा परेका वृत्तचित्रबिच एक महिनासम्म गरिएको अनलाईन भोटिङबाट नेपालीको वृत्तचित्रले बाजी मारेको हो ।

वृत्तचित्रमा अफगानिस्थानको युद्धमा दुबै खुट्टा गुमाएका वेलायती सैनिक हरि बुढामगरको संघर्ष र आत्मविश्वासको कथा समेटिएको छ । रुकुमका बुढामगरले सन् २०११ मा खुट्टा गुमाएका हुन् । खुट्टा गुमाउदाको पीडा र त्यहि पीडालाई शक्तिमा बदलेर केही गर्न अठोट लिएका बुढामगर सन् २०२०मा सगरमाथा चढ्ने तयारीमा छन् ।

बुढामगरले यसअघि मनाङ्मा रहेको ६ हजार मिटर अग्लो हिमाल र फ्रान्सको ४८ सय मिटरको माउण्ट ब्लंक हिमाल चढिसकेका छन् । शारीरिक रुपमा असक्त भएर पनि संसार बदल्न सकिन्छ भन्ने सन्देश दिनका लागि ११ वर्षदखि हरेक साल सिडनीमा फोकस अन एबिलिटी चलचित्र महोत्सव हुदै आएको छ ।