‘लिलिबिली’को लफडै लफडा

फिल्म चलेर खुशी हुन ‘लिलिबिली’का अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङले पाएनन् । अब त फिल्म चलेको खुशी साट्न यसका ३ जना निर्माताले पनि नपाएको खबर फैलन थालेको छ ।

निर्देशक मिलन चाम्सले फिल्म ‘लिलिबिली’ चलिरहँदा प्रदिप र जसितामाथि भडास पोख्नुसम्म पोखे । प्रदिप यस्तो, जसिता उस्ती भन्दै उनले यी दुइको करिअर फिल्म लाइनमा सकिएको घोषणा पनि गरेका थिए ।

अब, निर्देशक र अभिनेताको लडाई सकिएपछि ३ जना निर्माताको लडाई सुरु भएको छ । फिल्मका निर्माता गोविन्द शाहीले हलबाट एकलौटी पैसा उठाएर नदिएको भन्दै निर्माता सुदिप खड्का निर्माता संघमा उजुरी हाल्न पुगे । निर्माता संघले चलचित्र संघलाई पत्र लेख्दै विवादको समाधान नभएसम्म कुनै पनि हलबाट पैसा नदिन भन्यो ।

गोविन्द शाही हलबाट पैसा नपाएपछि छटपटिएका छन् । उनले, मिलन र सुदिपले आफूलाई विदेशमा चलाएको पैसाको हिसाब नदेखाएको आरोप लगाइरहेका छन् ।
फिल्म चलेको खुशीमा मख्ख पर्दै पार्टीमा रमाउनुपर्ने ३ निर्माता अहिले प्रहरीको ढोकासम्म पुग्ने कुरा गरिरहेका छन् । नमिल्ने भए ३ जना मिलेर किन फिल्म बनाउनु ? बनाइसकेपछि हिसाब मिलाएर शेयर बाँडफाँड नगरेर किन रमिता देखाउनु ?