‘बलिदान’मा दर्शकको मागपछि विराजसँग सन्तोष सेनको भेट

निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरेसँगै दर्शकहरुले फिल्ममा नायक विराज भट्टलाई लिनुपर्ने बताइरहेका छन् । विराज नै फिल्ममा हुनुपर्ने दर्शकको चर्को मागपछि निर्माता तथा निर्देशक सेनले उनीसँग भेटघाट गरेका छन् । फिल्मका अन्य टिमसहित सन्तोषले विराजसँग कुराकानी गरेका हुन् । 

उनीहरुबीचमा, फिल्मको विषयमा कुराकानी भयो या भएन खुलेको छैन । तर, विराज र सन्तोषको भेटघाटले उनीहरुबिच सहकार्य हुने संभावना बलियो बनेको छ । 

विराज आफैले पनि फिल्म ‘१२ गाउँ’ निर्देशन गर्ने पक्का गरिसकेका छन् । तर, फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो छैन । 

निर्देशक सेनले फिल्म ‘बलिदान’मा नायकद्धय सौगात मल्ल र अर्पण थापालाई अनुबन्धित गरिसकेका छन् । फिल्मका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ । अब, विराज पनि फिल्ममा जोडिए भने यसको लाइनअप बलियो बन्नेछ । 

आउँदो दशैँमा ठूला फिल्मको त्रिपक्षिय भिडन्त हुने भएपछि सबै मेकरहरु आफ्नो फिल्मलाई बलियो बनाउन लागिपरेका छन् । यसैले, पनि विराजलाई भित्र्याउन सन्तोष लागिपरेको हुनसक्छ ।